Bagmati Samachar Logo

रानाथारू सूचीकरण राजपत्रमा प्रकाशित

काठमाडौं । ७ जेठ । रानाथारू सूचीकरणको सम्पूर्ण कानूनी प्रक्रिया पूरा भएको छ ।सूचीकरणको सम्पूर्ण कानूनी प्रक्रिया पूरा भएसँगै राजपत्रमा प्रकाशित भएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समावेशी शाखा अधिकृत बन्दना कर्णले रानाथारू जाति आदिवासी जनजातिमा सूचीकृत भएको बताइन् । उनले भनिन्, ‘रानाथारू जाति आदिवासी जनजातिको सूचीमा सूचीकृत भएको छ । सोमबार राजपत्रमा सूचना समेत प्रकाशन भएको छ । अब यसको सम्पूर्ण कानूनी प्रक्रिया पूरा भयो ।’
आदीवासी जनजाति उत्थान राष्ट्रयी प्रतिष्ठान ऐन २०५८ को परिच्छेद ५ को दफा २५ बमोजिम नेपाल सरकारको सिफारिसमार्फत आदीवासी जनजातिको अनुसूचीमा थपघट गर्न सक्ने व्यवस्था अनुरुप सूचीकरण गरेर राजपत्रमा प्रकाशन भएको कैलाली क्षेत्र नं ५ का प्रतिनिधिसभाका सदस्य नारदमुनी रानाले बताए ।


राथानारू जाति सूचीकरण भएर राजपत्रमा प्रकाशित भएपछि रानाले खुसी हुँदै भने, ‘रानाथारू जातिलाई आदिवासी जनजातिमा सूचीमा सूचीकृत गराउने पूरा भएको छ ।’

यसअघिसम्म ५९ वटा आदिवासी जनजाति सूचीकृत भएकोमा अब रानाथारू थपिएपछि नेपालमा ६० वटा आदिवासी जनजाति सूचीकृत भएका छन् ।
रानाथारू समुदायलाई आदिवासीको सूचीमा सूचीकृत गराउन उनले राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीलगायतलाई ज्ञापनपत्र बुझाउनेदेखि ध्यानाकर्षण गराउँदै आएका थिए ।

संघीय संसदमा रानाथारूबाट राना एकमात्र सदस्य हुन् । तर, रानाले सूचीकृतका लागि सडकदेखि सदनसम्म आवाज उठाउन छोडेनन् ।
दुई वर्षको प्रयास र मेहनतपछि अन्ततः रानाथारू जातिलाई आदिवासी जनजातिमा सूचीमा सूचीकृत गराउने काम पुरा भएको छ रानाले बताए ।

‘हाम्रो समुदायको माग पनि यही नै थियो, जे होस् केही ढिलै भए पनि सरकारले हाम्रो माग सुनेको छ । हाम्रो अलग्गै पहिचान स्थापित भएको छ’, रानाले भने ।
जनगणनामा समावेश हुँदै
रानाथारू जाति जनजातिमा सूचीकरण भएसँगै अब हुने जनगणनामा समावेश हुनेछ ।
नेपाल रानाथारू समाजका उपाध्यक्ष कमल रानाले राष्ट्रिय जनगणना २०७८ मा रानाथारू भाषी र जातिलगायत विविध सूचकको जनगणनाका लागि सांसद रानाले पहल गरिसकेको बताए ।

कमल रानाले भने, ‘अबको जनगणनामा रानाथारू जाति समावेश हुन्छ । त्यसका लागि गर्नुपर्ने प्रक्रिया पनि पूरा भइसकेको छ ।’

इथोनोलगको सन् २००६ को तथ्याङकअनुसार कैलाली र कञ्चनपुरमा रानाथारूको जनसंख्या ३ लाख ३६ हजार रहेको छ । एनईजीआरपीको प्रतिवेदन सन् २०१४ का अनुसार रानाथारूको जनसंख्या ३ लाख ६० हजार रहेको छ ।

अब हुने जनगणनामा रानाथारू समुदायको जनसंख्या साढे ३ लाखकोहाराहारीमा हुने अनुमान गरिएको रानाले बताए ।