Bagmati Samachar Logo

लकडाउनमा प्रेस देखाउदै हिडेका २ जना हतियारसहित पक्राउ

सर्लाही । ४ जेठ । मोटरसाइकलमा प्रेस लेखेर लकडाउनमा हतियारसहित घुमिरहेका २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रेस लेखिएको मोटरसाइकलमा हतियार बोकेर घुमिरहेको भनि गोप्य सूचनाको आधारमा प्रहरीले सर्लाहीको बिष्णु गाउँपालिका–३ बस्ने २५ वर्षीय मदन साह कानु र भारतको विहार प्रान्तस्थित सीतामढी जिल्ला मरहाडिहका बस्ने १९ वर्षीय अनिश साहलाई सर्लाहि प्रहरीले पक्राउ गरेको छ ।

हतियारसहित घुमिरहेका उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक मदन कुँवरले बताए । लकडाउनका बेलामा भारतीय मोटरसाईकल बीआर ३० एम ६७८७ नम्बरको मोटरसाइकलमा ‘प्रेस’ लेखेर घुमिरहेका उनीहरुलाई विष्णु गाउँपालिका–३ विश्वनाथ टोलस्थित बाँसघारीबाट हतियार सहित पक्राउ गरिएको कुँवरले जानकारी दिए ।

प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटेको संयुक्त टोलीले उनीहरुको साथबाट १ थान कटुवा पेस्तोल र सोमा लाग्ने १ राउण्ड गोली, अर्को चाइनिज पेस्तोल १ थान, सोको म्यागेजिन र ५ राउण्ड गोली बरामद भएको प्रहरी नायब उपरीक्षक कुँवरले जानकारी दिए ।
उनीहरुका विषयमा थप अनुसन्धान भइरहेको उनले बताए ।