छाङ्गरुमा बीओपी स्थापना, २५ सशस्त्र प्रहरी तैनाथ (फोटो फिचरे)
काठमाडौं । ३१ वैशाख । कालापानी क्षेत्रको सीमा सुरक्षााका लागि छाङ्गरुमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरिएको छ । नेपाल सरकारले गरेको निर्णयानुसार व्यास गाउँपालिका–१ छाङरुमा बाह्रै महिना सुरक्षाकर्मी बस्ने गरी बीओपी स्थापना गरिएको हो ।
बीओपीमा सशस्त्र प्रहरी निरीक्षक मिलिबहादुर चन्दको नेतृत्वमा २५ जना सशस्त्र प्रहरीलाई तैनाथ अवस्थामा राखिएको दार्चुलका सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरले जानकारी दिए ।
सहायक प्रमुख जिल्ला अधिकारी कुँवरका अनुसार ६ महिनाका लागि पुग्ने खाद्यान्न, मेडिकल सामाग्री, हातहतियार र बन्दोबस्तीका आवश्यक सामानहरू दार्चुला सदरमुकाम खलङ्गाबाट हेलिकोप्टरमार्फत छाङ्गरु पुर्याइएको छ।
‘आज दिउँसो सेनाका हेलिकोप्टर काठमाडौँबाट आएपछि दार्चुलामा अवतरण गरिएको थियो । त्यसपछि बीओपी स्थापनाका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत सशस्त्र प्रहरी अतिरिक्त प्रहरी महानिरीक्षक नारायणबाबु थापा, गृहमन्त्रीका सुरक्षा सल्लाहकार ईन्द्रजित राई, प्रमुख जिल्ला अधिकारी, बीओपीमा खटिने २५ जना सशस्त्र प्रहरी लगायत सुरक्षाकर्मी र सञ्चारकर्मी छाङ्गरु गएका थिए’ उनले भने ।
स्थानीयले छाङरुमा कित्ता नम्बर ३५ को ११५ रोपनी ३ आना जग्गामध्ये १५ रोपनी जमिन सशस्त्रको बीओपी स्थापनाका लागि एक वर्ष पहिले दिइसकेका छन् । नेपाल सरकारले बीओपी स्थापनाका लागि ११ करोड बजेट विनियोजन गरेको छ ।
गत मंसिर महिनामा नेपाल सरकारले छाङ्गरुमा बीओपी राख्ने निर्णय गरे पनि हिमपात र लकडाउनका कारण पूर्वाधार निर्माणमा ढिलाइ भएको थियो ।
प्रतिक्रिया दिनुहोस्: