Bagmati Samachar Logo

स्थानीय अन्नबाली उपयोगमा प्रसय दिन, राहतमा मकै बितरण

काठमाडौं । ३१ बैशाख बुधबार । जाजरकोटका विपन्न र मजदुर परिवार लकडाउनका कारण समस्यमा परेकाहरुलाई बारेकोट गाउँपालिकाले चामलको साटो स्थानीय स्तरमै उत्पादित मकै राहत वितरण गरेको छ । अति दुर्गमभेगमा रहेको बारेकोटमा चामल पाउन मुस्किल भएकाले गाउँपालिकाले मकै राहत दिएको हो ।

गाउँमै फलेको मकै किनेर प्रति व्यक्ति पाँच पाथीका दरले मकै राहत उपलब्ध गराएको गाउँपालिका अध्यक्ष महेन्द्र शाहले बताएका छन्। यसगाउँपालिका सम्बन्धित वडाले आफ्नै वडा वा अर्को वडाबाट मकै किनेर विपन्न तथा मजदुरको पहिचान गरी प्रति व्यक्ति पाँच पाथी मकै, प्रतिपरिवार एक पोका तेल र एक केजी नुन उपलब्ध गराइएको हो।

कम्तिमा एक महिनाका लागि पुग्ने एक हजार ८५ परिवारलाई खाद्यान्न वितरण गरिएको अध्यक्ष शाहले बताए ।उनले भने,ु लकडाउन लम्बिँदै गयो र मकैले पुगेन भने मात्र चामल वितरण गरिनेछ। ढिलै भएपनि राहत पाएपछि विपन्न परिवार खुसी भएका छन् । आफूहरु यतिबेला खाद्य संकटले थलिएको बताउने बारेकोट १ बयालाका प्रेमबहादुर विकले गाउँपालिकाले दिएको राहतले आफ्नो परिवारलाई ठूलो राहत मिलेको बताए।उनको सात जनाको परिवार छ । दैनिक ज्याला मजदुरी गरेर गुजरा चलाउने त्यो परिवार लकडाउनका कारण काममा निस्कन पाएको हुन् ।

राहत पाएपछि उनले भने, धेरै दिनदेखि आधा पेट खाएर बाँचेका थियौं, अब भने बल्ल पेटभरी खान पाइने भयो।ु उनीजस्तै विपन्न तथा मजदुरले गाउँपालिकाको राहतले आफूहरुलाई ठूलै सहयोग पुगेको बताए ।

बारेकोटमा धान उत्पादन निकै कम हुन्छ। किन्नलाई चामल पनि पाइँदैन । खाद्य तथा व्यापार कम्पनी लिमिटेडको बारेकोट डिपोमा चामल मौज्दात छैन ।गहुँ र जौ पाकेका छैनन् । मकै प्रशस्त उत्पादन हुन्छ तर मकै पशुलाई खुवाउन र जाँड रक्सी बनाउन प्रयोग गर्ने गरिन्छ ।

स्थानीयरुपमा उत्पादिन भएका अन्न अन्य प्रयोजनमा खेर जाने तर खाद्य संस्थान र तराईको चामलमा भरपर्ने कुरालाई निरुत्साहित गर्न गाउँमै उत्पादिन मकै राहत दिने निर्णय गरिएको अध्यक्ष शाहले बताए ।

स्थानीय उत्पादनमा जोड दिइरहेको गाउँपालिकाले कृषि उत्पादनमा जोड दिन विशेष अनुदान दिने कार्यक्रम अघि सार्ने तयारी गरेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिंहले बताएका छन् ।

बर्षेनि खाद्य संकटको समाचार आउने बारेकोटमा खाद्य संकट नभएर भात (चामल) संकट भएको सिंहले बताए । भाते बानीमा सुधार गरी स्थानीय अन्न उपयोगमा जोड दिने गाउँपालिकाको नीति रहेको उनले बताए । उनले व्यवसायिक कृषि उत्पादनमा लाग्ने किसानलाई अनुदान समेत प्रदान गरिने बताए ।

फोटो अन्नपूर्ण पोष्ट बाट .