Bagmati Samachar Logo

भारतबाट फर्केर क्वारेन्टाइनमा बसेकाले भने हामीलाई भत्ता चाहियो

कैलाली२४ वैशाख बुधबार । भारतबाट फर्किएर स्थानीय तहको क्वारेन्टाइनमा बस्दै गरेकाहरुले भत्ता माग गरेका छन् ।

भारतबाट कमनयर ल्याएको रकम पनि सकिएको भन्दै दार्चुलाको मार्मा गाउँपालिकाको क्वारेन्टाइनमा बसेकाहरुले राहत स्वरुप भत्ता माग गरेका छन्। आफुहरु ३४ दिन भारतको क्वारेन्टाइनमा बस्नु परेको र यहाँ कति दिन बस्नुपर्ने हो थाहा छैन, त्यसैले मार्मा गाउँपालिका ५ दिलेन्द्र सिंह महताले भने, ‘हामीलाई यहाँ बसेको भत्ता चाहिन्छ । ’

खेती गर्ने समय सुरु भएको तर, आफूहरुसँग रकम नभएको भन्दै उनले राहत स्वरुप पैसा पाउनुपर्ने बताएका हुन् । ‘लेबरी गरेर ल्याएको पैसा भारतको क्वारेन्टाइनमा बस्दा सकियो,’ उनले भने, ‘छोराछोरीले के ल्याइदिनु भयो भनेर सोधछन् । हामीले भत्ता पायौं भने त्यही पैसाले उनीहरुको लागि सामान किनेर लैजान्छौ ।’

मुरईका झमे महताले पनि सरकारले राहत नदिए आफूहरु थप समस्यामा पर्ने बताए । ‘ठेकेदारले पुरै पैसा दिएन । दिएको पैसा पनि सकियो,’ उनले भने, ‘हामीलाई त यहाँ भत्ता चाहिन्छ ।’

मंसिरमा भारत गएका उनी पुरै काम गर्न नपाई फर्किएको बताए । ‘३० र ४० हजार कमाइ हुनुपर्नेमा २०र२५ हजार मात्रै भयो । त्यतिमा पनि ठेकेदारले ४र५ हजार रुपैयाँ मात्रै दियो’ उनले भने । कमाएर ल्याएको पैसा पनि सकिएपछि उनले घर जान क्वारेन्टाइनबाट भत्ताको अपेक्षा गरेको सुनाएका हुन् ।

अध्यक्ष धामी भन्छन्, भत्ता दिन सकिन्न ।
मर्मा गाउँपालिकाका अध्यक्ष जनसिंह धामीले तत्काल भत्ता दिन नसकिने बताए । तर उनले भने उहाँहरुलाई रित्तो हात घर पठाउने योजना छैन ।’

मार्मा गाउँपालिकाको क्वारेन्टाइनमा मात्रै ८९ जना छन् । उनीहरुलाई क्वारेन्टाइनबाट बाहिर निस्किए लगत्तै प्रधानमन्त्री रोजगार कार्यक्रमबाट रोजगारी दिने तयारी भइरहेको उनले जानकारी दिए ।

दार्चुलामा मात्रै होइन, बझाङको बुंगल नगरपालिकाको क्वारेन्टाइनमा पनि अहिले भारतबाट आएका तीन सय ७७ जना रहेका छन् उनिहरुले पनि भत्ताको माग गरेका छन् ।

बुंगल नगरपालिका कपलसेरीका वीरेन्द्र कामीले कमाउने व्यक्ति बन्धक भएको भन्दै राहत मागेका छन् । आफ्नै वडाको क्वारेन्टाइनमा बस्दा कुनै समस्या नरहे पनि आर्थिक संकट सुरु भएको उनको भनाइ छ । ‘घरको मुली म हुँ । तर, मसँग एक रुपैयाँ पनि छैन’ उनले भने, ‘खेती गर्ने समय सुरु भयो । पैसा नहुँदा खेती गर्न समस्या हुने भयो । ’

उनी तत्काल स्वास्थ्य परीक्षण गरेर घर जान पाउनुपर्ने माग पनि गरे । ‘३४ दिन भारत बस्यौँ यहाँ कहिलेसम्म राख्छ’ उनी भन्छन्, ‘हामीलाई भरपर्दो परीक्षण गरेर घर पठाए हुन्थ्यो ।’

बुुंगल नगरपालिकाका मेयर धनबहादुर विष्टले तत्काल भत्ता दिन नसकिने बताए । उनी भन्छन्, ‘उहाँहरुलाई खाना खुवाउन समस्या परेको छ, कसरी भत्ता दिनू ।’