Bagmati Samachar Logo

काठमाडौैंमा गुणस्तरीय तरकारी र फलफूल बिक्री थालियो

काठमाडौं । १९ वैशाख । कोरोनाको सन्त्रास देशभर छाइरहेको बेला भान्सामा प्रयोग हुने तरकारी तथा फलफूल स्वस्थ र ताजा होस् भन्ने सबैको चाहना हुन्छ ।

उपभोक्तामा तरकारीबाटै कोरोनाको संक्रमण हुने होकि भन्ने त्रास पनि रहेको बेलामा, राजधानी काठमाडौंमा उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राख्दै स्यानिटाइज (निर्मलीकरण) गरिएको पानीले र खानयोग्य केमिकल प्रयोग गरेर पानीमा धोइ स्यानिटाइज गर्दै, त्यसपछि प्याकेजिङ गरेर उपभोक्तासम्म पुर्याउने गरेका छ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) को कृषि समितिअन्तर्गतको मुना कृषि लिमिटेडले राजधानीमा स्वस्थ तरकारी तथा फलफूल बिक्री थालेको हो ।

गत वैशाख ६ गतेदेखि बसुन्धारास्थित यति पार्टी प्यालेसमा रहेको केन्द्रबाट तरकारी तथा फलफूल बिक्रीवितरण थालिएको हो ।

हाल बिक्रीकेन्द्रबाट काउली, फर्सी, आलु, करेला, खुर्साली, गोलभेडा, गाँजर, घिरौला, भिन्डी, ब्रोकाउली, केरा, अंगुर, मेवालगायतका विभिन्न ३५ भन्दा बढी थरीका फलफूल तथा तरकारी बिक्री गर्ने गरिएको छ । स्यानिटाइज गरिएको तरकारी तथा फलफूल उपभोक्ताको घरसम्म नै डेलिभरीको व्यवस्था समेत मुना कषिले गरेको छ ।


काठमाडौं महानगरपालिकाको सहजीकरण र समन्वयमा बिक्री थालिएको सेनिटाइज गरिएको तरकारी तथा फलफूलको माग उच्च रहेको त्यसमा आवद्ध दिपक तिमल्सिनाले जानकारी दिए । लकडाउनको बीच पनि हाल गुणस्तरीय तरकारी र फलफूल आफूहरुले ग्राहकसम्म पुर्याइरहेको तिमल्सिनाले बताए ।

अहिले मुना कृषिले बिहान र बेलुकाको समयमा एकीकृत बस्तीहरुमा भ्यानमार्फत बिक्रीवितरण गरिरहेको छ । यस्तै सीतापाइला, धुम्बाराही, चुनदेवी र धापासीमा ‘सेल प्वाइन्ट’ पनि स्थापना गरेको छ भने हाललाई रिङरोडभित्रका उपभोक्ताले मुना कृषिको अनलाइन पोर्टल सप मुना मार्फत पनि अर्डर गर्न सक्छन् । मुना कृषिले बिक्रीवितरण गर्ने अधिकांश तरकारी तथा फलफूल खुद्रा बजारमा पाइने भन्दा केही सस्तो पनि रहेको छ ।

यसकालागि अधिकांश कृषि उपज सिधै किसानबाट खरिद गरेर र थोरै सामाग्री कालीमाटी फलफूल तथा तरकारी बजारबाट पनि खरिद गर्ने गरिएको छ ।

नेपाली कृषि उपज विदेश निर्यात गर्ने लक्ष्य
नेपाली कृषि उपजको प्रवर्द्धन र बजारीकरण गर्नेगरी एनआरएनएको कृषि समिति अन्तर्गतको मुनाकृषि र बागमति प्रदेश सरकारबीच सम्झौता यसअघि नै सम्झौता भइसकेको छ ।

जसअनुसार मुना कृषिले किसानहरुको उत्पादन सिधै खरिद गरी त्यसको बजारीकरण गर्ने जिम्मेवारी लिन्छ । मुना कृषिले निकट भविष्यमै काठमाडौंमा प्रशोधन केन्द्र खोल्नुका साथै काठमाडौंबाहिर कलेक्सन सेन्टर स्थापना पनि गर्ने छ।

मुना कृषिले निकट भविष्यमा नेपालमा उत्पादिन कृषि उपजहरुलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने लक्ष्य पनि राखेको बाताएको छ ।