Bagmati Samachar Logo

भूकम्पपछिका ५ वर्षः सरकारले ८८ प्रतिशत काम गरेको दाबी, ३ खर्ब ८१ अर्ब रुपैयाँ खर्च

काठमाडौं । १२ वैशाख । विनाशकारी भूकम्प गएको ५ वर्ष बितेको छ । १२ वैशाख २०७२ मा गएको थियो विनाशकारी भूकम्प । यी ५ वर्षमा पुनर्निर्माणको सबै काम सक्ने लक्ष्य निर्धारण गरिए पनि पूरा हुन सकेको छैन ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार हालसम्म ८८ प्रतिशत काम प्राधिकरणले गरेको बताएको छ । भूकम्पपछिको पुननिर्माणका लागि ८ खर्ब रुपैयाँभन्दा बढी रकम खर्च हुने प्राधिकरणको प्रक्षेपणमा हालसम्मको सरकार र दातृ निकायबाट आएको रकमसमेत गरी जम्मा ३ खर्ब ८१ अर्ब रुपैयाँ खर्च भएको छ ।

प्राधिकरणका अनुसार ३ खर्ब ९ अर्ब रुपैयाँ सरकार तथा दातृ निकाय र ७२ अर्ब रुपैयाँ गैरसरकारी संस्थाको रकम खर्च भएको छ । पुनर्निर्माणका लागि विनियोजन गरिएको बजेटसमेत पूरा खर्च हुन सकेको छैन । प्रत्येक वर्ष पुनर्निर्माणका लागि विनियोजन गरिएको खर्च ३० प्रतिशतसम्म खर्च हुन सकेन ।

१२ वैशाख २०७२ मा गोरखाको वारपाकलाई केन्द्रविन्दु बनाएर गएको भूकम्प र त्यसपछिका परकम्पका कारण ८ हजार मानिसको मृत्यु भएको थियो भने २२ हजारभन्दा बढी घाइते भएका थिए । भूकम्पका कारण करिब १० खर्ब रुपैयाँ बराबरको आर्थिक क्षति पुगेको अध्ययनले देखाएको थियो ।

तत्कालीन समयमा नेपालको आर्थिक वृद्धिदर ०.६७ विन्दुमा झरेको थियो । तत्कालीन अर्थमन्त्री महतका अनुसार भूकम्प र नाकाबन्दीको समान असर अर्थतन्त्रमा परेका कारण त्यो हदसम्मको गिरावट आएको हो ।