नेपाल प्रवेश गर्न नपाएपछि क्वारेन्टाइनमा बसेर आमाको किरिया

काठमाडौं । ३ वैशाख । दार्चुलाको शैल्यशिखर नगरपालिका १ जोगेउडाका ३५ वर्षीय वासुदेव भट्ट अहिले भारतको पिथौरागढको बालुवाकोटमा क्वारेन्टाइनमा आमाको किरियामा बसेका छन् ।
भारतबाट ३ साता अगाडि नेपाल आउन सीमामा पुगेका उनी क्वारेन्टाइनमा बसिरहँदा आमाको मृत्यु भएपछि क्वारेन्टाइनमै किरिया बसेका हुन् ।
मंगलबार साँझ उनकी ६५ वर्षीया आमा गौमती भट्टको निधन भएको हो । आमाको निधन हुँदासमेत नेपाल प्रवेश गर्न नपाउँदा क्वारेन्टाइनमा किरिया बसेको उनले बताए । ३ महिनाअघि भारतमा मजदुरी गर्न गएका भट्ट लकडाउनपछि घर आउँदा धार्चुलामा अलपत्र परेका थिए ।
‘मजदुरीकै लागि भारत गएको थिएँ । आफ्नै जन्मभूमिको ढोका बन्द भएपछि आमाको दाहसंस्कारमा उपस्थित हुन पाइनँ,’ उनले भने, ‘काजकिरियाका लागि नेपाल प्रवेशको अनुमति नपाएपछि क्वारेन्टाइनमै किरिया बसेको छु ।’
कोरोना भाइरसका कारण घर आउन खोजेको चर लकडाउनका कारण जान नपाएकाले आमाको निधन हुँदा पनि क्वारेन्टाइनमा किरिया बस्नुपरेको उनको दुखेसो छ ।
किरियाको आवश्यक काम गर्न बन्दोबस्ती मिलाइदिन आग्रह
शैल्यशिखर नगरपालिका( १ को कार्यालयले जिल्ला प्रशासन कार्यालयलाई वासुदेवलाई आमाको मृत्युपछि गरिने किरियाको आवश्यक काम गर्न बन्दोबस्ती मिलाइदिन आग्रह गर्दै पत्रचार गरेको छ ।
जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्रचार गर्दै मृत्युपछि गरिने कार्यका लागि आवश्यक समन्वय गरिदिन आग्रह गरिएको शैल्यशिखर नगरपालिका १ का वडा अध्यक्ष भरतबहादुर खडायतले बताए ।
घरमा कान्छो भाइ र वृद्ध बुबा मात्र रहेकाले प्रमुख जिल्ला अधिकारीलाई आग्रह गरेको वडा अध्यक्ष खडायतले जानकारी दिए ।
नेपाल ल्याउनका लागि पहल भइरहेको छः सहायक प्रजिअ
भट्टले अहिले भारतको पिथौरागढको बालुवाकोट क्वारेन्टाइनमा काजकिरिया गरिरहेकाले उनलाई नेपाल ल्याउनका लागि पहल भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरले जानकारी दिए ।
‘धार्चुलामा डीएम कार्यालय छ । हामीले उहाँलाई पत्राचार गरेका छौँ,’ सहायक प्रजिअ कुँवरले भने, ‘फोनबाट पनि कुरा भइरहेको छ । उहाँले अनुमति दिनेवित्तिकै नेपाल प्रवेश गर्न दिन्छौँ ।’
आज ढिलो भइसकेकाले भोलि बिहानसम्ममा भारततर्फबाट खबर आउने र सोहीअनुसार अगाडि बढ्ने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्: