कोरोना भाइरसले संसार हल्लाएका यी १०१ दिन
काठमाडौं । २९ चैत । ३१ डिसेम्बर २०१९ मा चीनको हुवेई प्रान्तको वुहान शहरमा देखिएको थियो कोरोना भाइरस । आज यो भाइरस फैलिएको पनि १०१ दिन पुगेको छ । यो सय दिनमा विश्वमा धेरै उथलपुथल भएको छ ।
अरू समयमा हजार दिनमा हुने परिवर्तन युद्धमा छोटो समयमै त्योभन्दा बढी उथलपुथल हुन्छ भन्ने भनाइ चरितार्थ भएको छ । हतियारबिनाको यो लडाइँ देशदेशबीच नभएर एक सानो तर खतरनाक कोरोना भाइरसविरुद्धको हो । आज विश्व एक भएर यो कोरोना भाइरसविरूद्ध युद्ध लडिरहेको छ । तर पनि पराजित गर्न सकेको अवस्था छैन ।
विश्वमा हातहतियारले सुसज्जित देशहरू पनि आज यो भाइरसको अगाडि हार खाएका छन् । चन्द्रयान र मंगलग्रहका बारेको खोजमा वैज्ञानिकहरू सफल भएको अवस्थामा रुघाखोकी र ज्वरो लगाउने भाइरसविरुद्ध लड्न जीव विज्ञानलाई हम्मेहम्मे भएको छ ।
कोभिड १९ को जन्म भएको आज १स १ दिनमा विश्वमा १० वर्षमा हुन नसक्ने परिवर्तन भएको छ । तर, धेरै परिवर्तन उल्टो दिशामा भएको छ । कोरोनाले पृथ्वीमा मानवविरुद्ध जनाएको उपस्थितिको १ सय दिनमा नै विश्वलाई १ सय वर्ष पछाडि धकेलिदिएको छ । त्यही भएर त आज भनिँदै छ कि दोस्रो विश्वयुद्धपछिको सबैभन्दा भयानक त्रासदी र आर्थिक मन्दीको अवस्था सुरु भएको छ । आज मानिसको मृत्यु पनि यति भयानक भएको छ कि मानौँ, आफन्तको मुखसम्म हेर्न नपाउने अवस्था सिर्जना भएको छ ।
कोरोना भइरसले विश्वमा सामाजिक र आर्थिक रूपमा धेरै नकारात्मक परिवर्तन ल्याएको छ । आज मै हुँ भन्ने विश्वकै महाशक्ति राष्ट्रको ताज पहिरिएका मुलुकहरूको अवस्था पनि दैयनीय बन्दै गएको देखिएको छ ।
कोरोना भाइरस ९कोभिड–१९० नामकरण
चीनको वुहानमा देखिएको यो फरक किसमको भाइरसको नाम सुरूमा २०१९ एनसीओभी ९२०१९–एनसीओभी० भनिएको थियो । वैज्ञानिकहरूले यसको नाम राख्न धेरै ठूलो मेहनत गरेको बीबीसीले जनाएको छ ।
वैज्ञानिकहरूलाई पनि सुरूमा यसको नाम नोवेल भन्ने कि नयाँ कोरोना भन्ने भनेर बहस नै भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका थिए । माइक्रोस्कोपबाट हेर्दा भाइरसहरूका क्राउन टुक्राटुक्रामा देखिएकाले कोरोना नाम राखिएको बताइएको छ । भाइरसको नाम अन्तर्राष्ट्रिय कमिटी अन टाक्सोनोमिक अफ भाइरसले राख्ने गर्छ ।
शक्तिको दम्भ चुरचुर
अमेरिका र युरोपियन देशहरू आफूलाई शक्तिसम्पन्न सम्झन्थे । उनीहरूले अझ यो भाइरसको सुरूवातमा चीनको खिल्ली उडाएर बसे । यो भाइरस आफूकहाँ पनि आउन सक्छ भन्ने हेक्कासम्म राखेनन् । बरू कोरोना भाइरसलाई चिनियाँ भाइरस भनेर चीनको खिल्ली उडाए । चिनियाँ नेता माओको मुखमा मास्क लगाएर समाचार छापे अमेरिकी र युरोपेली मिडियाहरूले ।
चीन कोरोनाका कारण धेरै समस्यामा थियो । तर पश्चिमाहरू भने शक्तिशाली भएको दम्भ देखाएर बसेका थिए । जब कोरोना भाइरस फैलिँदैफैलिँदै २५ दिनमै युरोप पुग्यो, र अझ भयावह रूप लिन थाल्यो, तब चीनको खिल्ली उडाउने पश्चिमाहरूको सातो जान थाल्यो । यो भाइरस २४ जनवरीमा युरोप प्रवेश गरेको थियो । यही २४ जनवरीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वीट्जरल्याण्डको डाभोसमा भएको एउटा सम्मेलनमा भनेका थिए, ‘कोरोना भाइरसबाट अमेरिकालाई कुनै खतरा छैन ।’
यहीबाट थाहा लाग्छ कि कोरोना भाइरसलाई अमेरिकाले कति कमजोर रूपमा लिएको थियो भनेर । तर आजको दिनसम्ममा आइपुग्दा संसारमै सबैभन्दा बढी मर्नेको संख्या अमेरिका नै बन्ने लक्षण देखिइसकेको छ । हाल अमेरिका र युरोपमै सबैभन्दा बढी संक्रमण र मर्नेको संख्या पुगेको तथ्यांकले देखाएको छ ।
अमेरिका र युरोपको शक्तिको घमण्ड आज चुरचुर भएको छ । उनीहरूको राज्य व्यवस्था नै डामाडोल भएको छ । उनीहरूको शक्ति, आर्थिक अवस्था, स्वास्थ्य सेवाको अवस्था र तिनले विकास गरेका मोडलहरू एउटा भाइरसका अगाडि निरीह सावित भएका छन् । त्यही भएर त अमेरिकाले अहिले बाटोमै अरूका मास्क चोर्नुपरेको छ । मलेरियाको औषधिका लागि भारती प्रधानमन्त्री मोदीलाई गुहार्नुपरेको छ ।
शक्ति सन्तुलनमा हेरफेरको सम्भावना
विश्वभरि फैलिएको कोरोनाको महामारीका कारण विश्व राजनीतिमा पनि यसको असर परेको छ । अहिलेसम्म विश्वमा महाशक्ति राष्ट्रको ताज भिरेको अमेरिकालाई अहिले सोही ताजको अस्तित्व जोगाउन हम्यहम्य परेको छ । अझ भन्दा प्रत्यक्ष रूपमा नभए पनि अप्रत्यक्ष रूपमा अमेरिका र चीनबीच लडाइँ सुरू भएको छ ।
चीन विश्वको नेता बन्नेतर्फ अग्रसर भएको छ भने अमेरिका दिनानुदिन आफ्नो भएको पुरानो हैसियत पनि गुमाउँदै गएको छ । ओबामाको समयमा पूर्वी एसिया र प्रशान्त क्षेत्रीय मामला हेर्ने उपविदेशमन्त्री कर्ट एम क्याम्पबेला र रेस दोषीले फरेन अफेयर्समा एक लेख लेखेका छन् । उनले उक्त लेखमा भनेका छन् कि ७ दशकदेखि अमेरिका विश्वशक्तिको रूपमा केवल पुँजी र सैन्यबलमा मात्र थिएन ।
घरेलु शासन र विश्वमा संकटको समयमा तीव्र रूपमा काम गर्ने तथा सहयोग गर्ने इच्छामा पनि अग्रणी भूमिकामा थियो । तर, अहिले यी तीनै कुरामा अमेरिका असफल भएको छ । यसरी अमेरिका असफल भइरहँदा चीन भने महामारीलाई अवसरको रूपमा लिँदै विश्वसँग राम्रो व्यवहार गर्दै महाशक्ति राष्ट्र बन्ने खुट्किलोमा पाइला राखिसकेको छ ।
आर्थिक नेतृत्वमा हेरफेर
राजनीतिमा मात्रा होइन, कोरोना भाइरसको महामारीले आर्थिक रूपमा पनि नेतृत्वमा परिवर्तन आउने आशंका गरिँदै छ । यसको नेतृत्वमा पनि अमेरिका र चीन नै आमनेसामने हुने देखिएको छ । अर्थतन्त्रको हिसाबमा पनि आजसम्म एकछत्र राज गर्दैको आएको अमेरिकालाई कोरोना महामारीले धेरै पछाडि धकेलिदिने भएको छ ।
कोरोना भाइरस सुरू भएको केही दिनदेखि लकडाउन गरेको चीनले अहिले लकडाउन हटाइसकेर सबै उद्योग, कलकारखाना खोलिसकेको छ भने उता अमेरिकामा यो भाइरसले आफ्नो तन्नेरीपन देखाइरहेको छ, नियन्त्रणमा आउनै सकेको छैन ।
चीनले कोरोनाबाट संक्रमण हुने र मृत्यु हुनेको संख्यामा कमी ल्याउन धेरै मेहनत गर्यो र सफल पनि भयो । तर, अमेरिकामा संक्रमण फैलिने क्रम विश्वमा सबै भन्दा बढी र मृत्यु हुनेको संख्या पनि दैनिक बढिरहेको विश्व स्वास्थ्य संगठनको तथ्यांकले देखाएको छ ।
आज उसले स्वास्थ्य उपकरण बाहिरबाट ल्याउनुपर्ने अवस्था छ । यसको एक मात्र निर्यातकर्ता अहिले चीन हो । चीनले कोरानाबाट भएको क्षतिको भरपाइ अब स्वास्थ्य उपकरण बेचेरै गर्दै छ । विश्वको अर्थव्यवस्था डामाडोल भएको बेला चीन आर्थिक रूपमा पनि सबल हुने तयारीमा रहेको अमेरिकीहरू नै बताइरहेका छन् । अब आर्थिक बागडोर पनि अमेरिकाको हातबाट फुत्किँदे छ । त्यसको नेतृत्व गर्न चीन तम्तयार भएर बसेको छ ।
चीनको सहयोग लिन अहिले विश्व नै बाध्य बनेको अवस्था छ । कोरोनाको उपचारका लागि चाहिने स्वास्थ्य उपकरण चीनसँग मात्र छन् । स्वास्थ्य उपकरणका लागि अहिले विश्व नै चीनमाथि निर्भर बनेको छ ।
औषधि निर्माणमा हानाथाप
आज विश्व केबल कोरोना केन्द्रित भएको छ । त्यसमा पनि आधी विश्व अहिलेको महामारीबाट कसरी बाँच्न सकिन्छ भनेर लागेको छ भने औषधि विज्ञानसँग जोडिएका देशहरू यसको रोकथाम र नियन्त्रण गर्न भ्याक्सिन र औषधि बनाउन केन्द्रित छ । अहिले विश्वमा ४४ प्रोजेक्ट औषधि र भ्याक्सिन बनाउनमा जुटेका छन् । कसले बनाउन सक्छ भन्दै ध्यान केन्द्रित गरेको छ ।
अर्कोतर्फ अमेरिका र चीनबीचमा पनि हानाथाप चलेको छ । अमेरिका आफ्नो देशमा कोरोना भाइरसलाई नियन्त्रणमा ल्याउन अझै २ महिना लाग्न सक्ने बताएको छ । अमेरिकाले नै औषधि अथवा भ्याक्सिन बने पनि यसको प्रयोग सफल भएर मानिसका लागि बजारमा आउन अझै ढेड वर्ष लाग्न सक्छ । अमेरिकामा भ्याक्सिनको अहिलेसम्म क्लिनिकल परीक्षणको रिपोर्ट पनि आएको छैन । तर, चीनले क्लिनिकल परीक्षण गरेर रिपोर्ट पनि ठीक आएको भनिँदै छ ।
मिडिया रिपोर्टका अनुसार चीनले बनाएका औषधि र भ्याक्सिन टेस्ट वुहानमा नै गरेको छ । मिडिया रिपोर्टमा भनिएको छ कि जुन व्यक्तिमा भ्याक्सिनको परीक्षण गरिएको छ, ती व्यक्तिलाई १४ दिनपछि घर पठाएको छ । तर, उनीहरू डाक्टरको निगरानीमा छन् । परीक्षण गरिएका मानिसहरू पनि पूर्ण स्वस्थ रहेको बताइएको छन् ।
चीनको पत्रिका चाइना डेलीका अनुसार मिलिट्री एकेडेमी र चाइनिज एकेडेमी अफ इन्जिनियरले मिलेर कोरोना भाइरसविरुद्धको भ्याक्सिन बनाएका हुन् । यसको नाम एडी५–एनसीओभी राखिएको छ । यसको क्लिनिकल परीक्षणका लागि करिब १ सय ८ स्वयंसेवकको सहयोग लिइएको छ । जसलाई वुहानको तोग्जी अस्पतालमा राखिएका थिए, चीनका अनुसार यी सबै मानिसहरू १८ वर्षदेखि ६० वर्ष उमेरका थिए । यी सबैलाई तीन समूहमा विभाजन गरी भ्याक्सिनको अलगअलग मात्रा दिइएको थियो ।
जीवनको महत्त्व बुझायो
यो १ सय दिनमा जीवनको परिभाषा नयाँ बनेको छ । योभन्दा पहिला मानिस आफ्नै जीवनसँग त्यति सचेत थिएन, जति अहिले देखिएका छन् । अहिले मानिसलाई आफ्नो जीवनको महत्त्व थाहा भएको छ । अहिले संसारभरका सबै मानिसको जीवनशैली नै पूरै बदलिएको छ । हिजोका स्वतन्त्रताका कुरा आज काम नलाग्ने अवस्थामा पुगेका छन् । आज स्वतन्त्रता नै मानिसका लागि घातक भएको छ । मनोमानी रूपमा घुम्नफिर्न प्रतिबन्ध छ । पहिला जीवन अनि अन्य अधिकार भन्ने कुरा स्थापित भएको छ ।
समानता बढेको छ
कोरोना भाइरस फैलिनुभन्दा पहिला मानिसहरूले धेरै असमान व्यवहार गर्ने गर्थे । आज धनी गरिब सब समान देखिएका छन् ।
मानिस कोरोना भाइरसको त्रासका कारण मानसिक तनावमा छन् । आज बाँचे पनि भोलि के हो के, केही थाहा छैन । आज जतिसुकै धनी भए पनि उसको अवस्था पनि गरिबकै जस्तो भएको छ । आज धनीले पैसा खर्च गरेर बाँच्न सक्ने अवस्था आएको छैन । यसले पनि थाहा लाग्छ– धन भएर मात्र केही हुँदैन ।
कोरोनाले बनायो मलामीबिनाको मुर्दा, जन्तीबिनाको विवाह
पछिल्लो समयमा इटाली र अमेरिकाको अवस्था हेरेर थाहा हुन्छ । आखिरमा कोरोना भाइरसले मानिसलाई कतिसम्म बाध्य बनाउँछ भन्ने इटालीको एउटा घटनाले पुष्टि गरेको छ ।
इटालीका एक फिल्मका हिरोकी बहिनीको मृत्युमा उनले गरेका फेसबुक लाइभबाट थाहा हुन्छ, उनको घरमा बहिनीको मृत्यु भएको थियो । तर उनी छुन सक्ने अवस्थामा पनि थिएनन् । न त सरकारी मानिस नै उनकी बहिनीको अन्त्यष्टि गर्न आए ।
आज विश्वभरि आआफ्नो संस्कारअनुसार गरिने मृत्यु संस्कार पनि गर्न पाएका छैनन् । मानिसले कति मानिस कमाएको छ, कस्तो आचरण र व्यवहारको थियो भन्ने कुरा मलामीबाट थाहा हुन्छ भन्ने भनाइ नै बदलिएको छ । आज त आफ्न्त नै मर्दा पनि छुन पाइँदैन, न त मलामी नै जान पाइन्छ ।
विवाहमा पनि आजभोलि मानिस जान नमिल्ने भएको छ । विवाह भए पनि सामान्य अवस्थामा सीमिति मानिस जम्मा भएर गर्नुपर्ने अवस्था आएको छ ।
१ लाख २ हजारको मृत्यु
लाग्छ पछिल्लो समयमा दोस्रो विश्वयुद्धपछि यति ठूलो संख्यामा मानिसको मृत्यु भएको कोरोनाको कारण नै होला । यो भन्दा पहिला पनि विभिन्न साना ठूला भाइरसहरु फैलीय । तर, पछिल्लो समयमा दोस्रो विश्वयुद्धपछि सबै भन्दा ठूलो संख्यामा मानिसको मृत्यु भएको यहि हो । आजको मितिमा १ लाख २ हजार ७ सय ३४ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ ।
यसको संक्रमणमा अहिले पनि १६ लाख ९९ हजार ६ सय ७६ जना छन् । संक्रमण भएर पनि ३ लाख ७६ हजार ३ सय ३४ जना भने सन्चो भएर घर फर्किएका छन् ।
प्रतिक्रिया दिनुहोस्: