काठमाडौं । २८ चैत। कोरोना भाईरसका कारण उडान बन्द हुँदा युएईबाट ११ जना नेपालीहरुको शव ल्याउन सकिएको छैन । नेपालमा लकडाउन हुनुअघि र त्यसपछि युएईमा ज्यान गुमाएका ११ नेपालीको शव युएईका विभिन्न अस्पतालमा छन् ।
बिशेषत यूएईमा विभिन्न कारणले ज्यान गुमाएका नेपालीको शव एक हप्ताभित्र नेपाल पठाउने गरिएपनि अहिले कोरोनाका कारण उडान नहुँदा शव पठाउन नसकिएको नेपाली दूतावास अबुधावीले जनाएको छ।
यहाँका उच्च निकायले नेपाली दूतावास अबुधावीलाई आफ्नो नागरिकको शव जतिसक्दो छिट्टो व्यवस्थापन गर्न अनुरोध गरेको छ। नेपाली दूतावास अबुधावीले शव व्यवस्थापन गर्ने नेपाल सरकार परराष्ट्र मन्त्रालय, वैदेशिक रोजगार बोर्ड, कन्सुलर सेवा तथा सम्बन्धित निकायसँग समन्वय गरिरहेको जानकारी दिएको छ।
लकडाउनसँगै उडान बन्द हुँदै जाने हो भने यहाँ रहेका नेपालीहरुको शवको व्यवस्थापन गर्न थप कठिन हुने देखिएको छ । एक उडानमा बढीमा दुईवटा मात्रै शव पठाउन सकिने प्रावधान छ। त्यसैले उडान सुरु भएपनि सबै शव नेपाल लैजान समस्या आउने देखिएको छ। उडान रोकिदै गए खाडी मुलुक कतार, साउदी लगायत मलेसियामा रहेका धेरै नेपालीहरुको शव अलपत्र हुने बताइएको छ।




प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरू लोड हुँदैछन्…