भारतका सीमावर्ती शहरमा संक्रमित बढेपछि सीमानाकाको चोर बाटोमा सशस्त्र परिचालन
काठमाडौं । २३ चैत । नजिकका भारतीय सीमावर्ती शहरमा कोरोना संक्रमित फेला परेपछि कपिलवस्तुका सीमा क्षेत्रमा लुकीचोरी आवतजावत हुने ससाना बाटोमा सशस्त्र प्रहरी परिचालन गरिएको छ ।
कोरोना संक्रमणको रोकथामका लागि खुल्ला सीमाका कारण सर्वसाधारण लुकीचोरी आवतजावत गर्ने गरेकाले जोखिम बढेको हुँदा सीमानाकामा उच्च सतर्कता अपनाइएको हो ।
भारतमा कोरोना संक्रमित र त्यसबाट मृत्यु हुनेको संख्या दिनप्रति दिन बढ्दै गएको छ । आइतबार दिउसोसम्म भारतमा ३ हजार ५ सय ८८ जना संक्रमित हुनुका साथै ९९ जनाको मृत्यु भइसकेको छ ।
लुकीचोरी आवतजावत गर्ने सबै नाकामा कडा सुरक्षा
भारतसंग सीमा जोडिएको कपिलवस्तुको ९३ किमीमा ठाँउठाँउमा लुकीचोरी आवतजावत गर्ने ससाना नाका छन् । सशस्त्र प्रहरीको सय जनाको थप शक्ति आईतवार यहाँ आइपुगेको छ ।
उनीहरुलाई सीमा रहेको ६ वीओपी र एक भन्सार राजस्व गुल्ममा परिचालन गरिसकिएको छ । उक्त युनिटले थप जनशक्तिलाई त्यस्ता लुकीचोरी गर्ने सीमानाकामा परिचालन गर्ने सशस्त्रको २८ नम्बर गणका उपरीक्षक जनकराज पुरीले जानकारी दिनुभयो ।
‘चोर नाका पूरै ठप्प पारेका छौं,’ उहाँले भन्नुभयो, ‘कसैलाई आवतजावत गर्न दिएका छैनौं, नाका शिल गरेका छौं, समकक्षी भारतीय एसएसबीले पनि सहयोग गरेको छ ।’
आवतजावत नियन्त्रणका लागि सशस्त्रको नौवस्ता, शम्सेरगञ्ज र बर्दघाट तालिम केन्द्र तथा पहाडी जिल्लाबाट थप जनशक्ति झिकाईएको छ । थप सशस्त्र परिचालन पछि खुला सीमा सुरक्षित भएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताउनुभयो ।
सीमा नाका र जिल्ला अन्तर अनाधिकृत प्रवेश रोकिएर संक्रमणको संत्रास कम भएको पनि उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्: