Bagmati Samachar Logo

के हो र्‍यापिड र कन्ट्याक्ट टेस्टिङ, जसलाई सरकारले प्राथमकिता दियो

काठमाडौं । २३ चैत । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या बढ्न थालेपछि सरकारले र्‍यापिड टेस्ट र कन्ट्याक्ट टेस्टका विधि अपनाउने निर्णय गरेको छ । कोरोना भाइरस सक्रमित ३ जिल्लालाई प्राथमिकतामा राखेर परीक्षण विस्तार गर्ने योजना स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको रहेको छ ।

शनिबार बसेको मन्त्रिपरिषद् बैठकले र्‍यापिड टेस्ट र कन्ट्याक्ट टेस्टका विधि अपनाउने निर्णय गरेको छ । अहिलेलाई कैलाली , कञ्चनपुर र बाग्लुङमा यस्तो विधि अपनाउने निर्णय भएको छ ।

के हो त र्‍यापिड टेस्ट ?
स्वास्थ्य मन्त्रालयमा प्रवक्ता डा. विकास देवकोटाका अनुसार सामान्य लक्षण देखिएका व्यक्तिलाई तत्काल चेक गर्ने विधि हो यो । यो टेष्टले कोरोना हुन सक्ने व्यक्तिको पहिचान गरिने हो ।

यो परीक्षणणबाट पोजिटिभ देखियो वा द्विविधा भयो भने पुनः पीसीआर विधिबाट तत्काल चेक गरी पुष्टि गर्ने काम गरिन्छ । पीसीआर सर्वोत्तम विधि मानिएको छ । अहिलेसम्म देखिएका पोजिटिभ रिपोर्ट पीसीआर विधिबाट नै परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

र्‍यापिड टेस्टको क्रममा कसैलाई पोजिटिभ देखियो भने त्यो हो नै भन्नेचाहिँ हुँदैन तर शंका बढी भएका कारण तत्काल नमुना सङ्कलन गरेर पुनः परीक्षण गरिनेछ । सामान्यतः आशंकितको पहिचान गर्नका लागि यो विधि अपनाइन्छ ।

त्यस्तै, सरकारले कन्ट्र्याक टेस्टिङ पनि सुरु गर्ने भनेको छ । यस्तो टेस्टिङ पनि अहिले ३ जिल्लामा गरिनेछ । यो टेस्टिङ भन्नाले कन्ट्याक्ट (भेटघाट) गरेका सबै व्यक्तिलाई टेष्ट गर्ने हो । कोरोना पोजिटिभ मान्छेले सम्पर्क गरेका वा उसले सम्पर्क गरेका अन्य व्यक्ति, उसको परिवारलगायतलाई परीक्षण गरिने डा। देवकोटाले बताए । यो परीक्षण लक्षण नदेखिएका व्यक्तिहरूलाई पनि गरिन्छ ।

कोरोना भाइरस संक्रमणको आशंका लागेका व्यक्तिहरूको तीब्र परीक्षणबारे आज योजना बनाउने मन्त्रालयले जनाएको छ । आइतबार थप छलफल गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता देवकोटाले जानकारी दिए ।

र्‍यापिड तथा कन्ट्र्याक्ट परीक्षणका लागि विशेष टिम खटाउने व्यवस्था मन्त्रालयले गर्ने जनाएको छ । पटक पटकको परीक्षणमा कोरोना पोजिटिभ देखिएपछि उनीहरूलाई आवश्यकताअनुसार आइसोलेसनमा राखेर उपचार अगाडि बढाइनेछ ।