Bagmati Samachar Logo

गाँजा तस्करी अभियोगमा मेयरलाई पक्राउ पुर्जी

हेटौडा । १९ चैत । गाँजा तस्करीमा अभियोगमा रौतहटको इशनाथ नरपालिकाका मेयरलाई पक्राउ गर्न मकवानपुर जिल्ला अदालतले अनुमति दिएको छ ।
मकवानपुर जिल्ला प्रहरी कार्यालयले रौतहट जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गरी ईशनाथ नरपालिकाका मेयर सन्तोष मेहता र उनका भाइ मोहन मेहतालाई पक्राउ गर्न आग्रह गरेको छ । मेयरका भाई मोहन नेकपाको इशनाथ नगरपालिका समितिका अध्यक्ष हुन् ।

गत ११ माघमा हेटौंडा उपमहानगरपालिका–१९ नेवारपानीमा रौतहटको डुमरिया स्वास्थ्य चौकीको बा २ झ १७४९ नम्बरको एम्बुलेन्समा ३० किलो ६ सय ग्राम गाँजा र ९१ हजार रुपैयाँ बरामद भएको थियो ।

सो एम्बुलेन्समा तीन वटा झोलामा ६ वटा पोका बनाएर मनहरीबाट हेटौंडातर्फ गाँजा ल्याउँदै गर्दा भारतीय नागरिक विनोद सहनी र एम्बुलेन्स चालक रौतहट डुमरियाका महम्द खलिद र अशोक कुमार पक्राउ परेका थिए ।
मकवानपुर जिल्ला अदालत हेटौडाले मुलुकी फौजदारी कार्य्विधि संहिता २०७४ को दफा ९ उपदफा ३ बमोजिम पक्राउ पूर्जी जारी गरेको हो । मेयरका भाइ तथा नेकपाका नगर अध्यक्ष मोहन मेहता एम्बुलेन्स सञ्चालन समितिको अध्यक्षसमेत हुन् ।

गत ११ माघमा हेटौँडा उपमहानगरपालिका १९ नेवार पानीस्थित प्रहरी टोलीले पूर्व–पश्चिम लोकमार्गमा बा २ झ १७४९ नम्बरको एम्बुलेन्स जाँच गर्दा ३० किलो ६०० ग्राम गाँजा र नेपाली ९१ हजार तथा भारतीय दुई हजार बरामद भएको थियो ।

पक्राउ परेका भारतिय नागरिक विनोद सहनीको बयानको आधारमा अदालतले मेयर मेहता र उनका भाइ मोहनलाई उपस्थित गराउन जिल्ला अदालत मकवानपुरले आदेशअनुसार जिल्ला प्रहरी कार्यालय मकवानपुरले आदेश दिएको प्रहरी निरिक्षक ललन राउत कुर्मीले बताएका छन् । मकवानपुर अदालतको आदेश अनुसार प्राप्त पत्र अनुसार दुवै जनाको खोजी भइरहेको रौतहट प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले बताए ।

उता अभियुक्त पक्राउ हुनु अघिनै पक्राउपुर्जी सार्वजनिक भएपछि हाल जिल्ला प्रहरी कार्यालय रौतहटमा आरोप प्रत्यारोप सुरु भएको छ । रौतहट प्रहरी प्रमुख प्रहरी उपरीक्षक रविराज खडका मङ्गलवार बिहान १० बजे नै आफू प्रदेश २ को बैठकमा सहभागी हुन जनकपुरतिर लागेका थिए ।

‘त्यहीबेला जिल्ला प्रहरीकै कसैले पक्राउपुर्जी सार्वजनिक गरेको हुनुपर्छ । हामी गहनरुपमा छानबिन सुरु गरेका छौँ । गलत गर्नेमा माथि कडा कार्यवाही हुन्छ,’ प्रहरी उपरीक्षक खडकाले प्रतिबद्धता जनाएका छन् ।