भोलिदेखि धरान, पोखरा र नेपालगञ्जमा कोरोना भाइरस परीक्षण सुरु हुने
काठमाडौं । १३ चैत । भोली देखि देशका तीन ठूला अस्पतालमा कोरोनाभाइरसको परीक्षण सुरु हुने छ । प्रदेश १ को धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान , गण्डकी प्रदेशको पोखरा र प्रदेश ५ को बाँकेको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा कोरोना भाइरस परीक्षण गर्न सुरु गरीएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।े ।
त्यसका लागि प्रविधिक टोली समेत पठाइएको स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.वासुदेव पाण्डेले जानकारी दिए । देशका सातै प्रदेशमा कोरोना जाँच गर्ने व्यवस्था मिलाउने योजना बनाइए पनि हाल भने तीन स्थानमा मात्र व्यवस्था गरिएको निर्देशक पाण्डेले बताए ।
‘कोरोना संक्रमण भएन–भएको पत्ता लगाउन अब यहाँको प्रयोगशालामा आउन पर्दैन,’ उनले भने,‘प्रदेश तहमा नै व्यवस्था चाडैँ हुन्छ ।’ शुक्रबारदेखि नै कोरोनाभाइरस (कोभिड–१९) को नमुना परीक्षण सुरु हुने उनले बताए ।
कोरोनाभाइरस संक्रमण परीक्षण जोखिमपूर्ण हुने भएकोले स्थल चयन गर्न समेत कठिनाई हुने निर्देशक पाण्डेले बताए । ‘कोरोना जाँच गर्ने स्थलमा वायोसेफ्टीको आवश्यकता पर्छ,’ उनी भन्छन्,‘परीक्षण गर्ने क्रममा नमुनालाई चलाउने, घुमाउने,एउटा भाडाबाट अर्को राख्नुपर्छ त्यसैले सावधानी अपनाउन जरुरी हुन्छ ।’
सबै स्थानमा परीक्षण स्थाल तोक्न भन्दा प्रभावकारी ढंगले काम गर्न जरुरी हुने उनी बताउँछन् । तोकिएका तीन स्थानमा आवश्यक जनशक्ति पठाउने पनि उनले बताए । पहिलो चराणमा तीन स्थानमै बीसदेखि सय नमुना परीक्षण गर्न सक्ने उनले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्: