Bagmati Samachar Logo

कोरोना भाइरसः तेस्रो सक्रमित व्यक्ति कतार होइन, युएईबाट नेपाल आएका थिए

काठमाडौं । १२ चैत । बुधबार कोरोनाभाइरस संक्रमणको पुष्टी भएका व्यक्ति चैत ६ गते अर्थात १९मार्च बिहीबार नेपाल आएको पुष्टि भएको छ ।

बुधबार स्वास्थ्य मन्त्रालयले कोरोना भाइरस संक्रमणको पुष्टी गरेका ती व्यक्ति युएईबाट एअर अरेबियाको फ्लाइट नम्बर जी ९५३७ (५३७) बाट चैत्र ६ गते राति १०ः२० बजे नेपाल उत्रिएको स्वास्थ्य मन्त्रालय स्रोतले बताएको छ ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकालले पत्रकार सम्मेलनमा बुधबार संक्रमित व्यक्ति कतारबाट आएको बताएका थिए । पत्रकार सम्मेलनका क्रममा गल्तीले कतार भन्नपुगेको र त्यसलाई सच्याउन लगाउने बताए ढकालले बताएका छन् ।

मन्त्रालय स्रोतका अनुसार ३२ वर्षीय ती युवाले संयुक्त अरब इमिरेट्सको शारजाह विमानस्थालबाट स्थानीय समयअनुसार पौने ५ बजे उडान भरेका थिए । उक्त विमान नेपालमा ल्याण्ड गर्दा रातको १० बजेर २० मिनेट गएको थियो ।

धादिङ घर भएका ती युवा चैत ७ गते नै धादिङ पुगेको पनि स्रोतले बताएको छ । तर स्वास्थ्यमा समस्या आएपछि चैत १० गते उनी टेकु अस्पताल आइपुगेका थिए । ज्वरो आउने र खोकी लाग्ने भएपछि टेकु अस्पतालको आइशुलेन वार्डमा भर्ना गरिएका ती युवामा चैत ११ गते साँझ कोरोना पोजिटभ को रिपोर्ट आएको थियो ।

मंगलबार नै ती युवामा कोरोना पोजिटिभ देखिएको भए पनि बुधबार मात्रै मन्त्रालयले यसबारे आधिकारिक जानकारी दिएको हो ।

अहिले ती युवा टेकुस्थित शुक्रराज अस्पतालमा उपचाररत छन् भने उनको परिवारलाई क्वारेन्टाइनमा राखिएको छ ।

मार्च १९ गते शारजाहबाट काडमाडौँका लागि उडान भरेको ५३७ नम्बरको फ्लाइटमा कति जना यात्रु थिए भन्ने हालसम्म खुलेको छैन । यद्यपि सरकारले उक्त फ्लाइटमा रहेका सबै जनाको लगत निकाल्ने र उनीहरुलाई क्वारेन्टाइनमा राख्ने काम भइरहेको बताएको छ ।

अहिले सरकारले उक्त फ्लाइटमा आएका व्यक्तिहरुको पहिचान खोजिरहेको बताएको छ ।