राजपा संयोजकले दिए क्वारेन्टाइन बनाउन होटल
हेटौडा । १२ चैत । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलका संयोजक शरदसिंह भण्डारी र सोही पार्टीका नेता निर्जला राउतले आफ्नो होटल कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि क्वारेन्टाइन बनाउनका लागि दिएका छन ।
महोत्तरीको बर्दिवासमा रहेको आफ्नो होटल पावन मिथिलालाई क्वारेन्टाइनमा प्रयोगको लागि दिएको राजपा नेपालका महासचिव केशव झाले जानकारी दिए । प्रदेश २ को सरकारले आवश्यक परे क्वारेन्टाइनका लागि सो होटल प्रयोग गर्न सकिने सांसद निर्जला राउतले बताइन् ।
साढे दुई कट्ठामा फैलिएको सो होटलमा ४५ वटा कोठा रहेको छ भने तीनवटा ठूला ठूला हल रहेका छन् । पार्किङको पनि पर्याप्त सुविधा छ । कोरोना भाइरसको संक्रमण सुरु भएपछि सांसद राउतले सो होटल बन्द गराएकी थिइन् । उनले भनिन, ‘यो अवस्थामा देशका लागि केही गर्न पाउनु नै ठूलो कुरा हो, मसँग यही थियो अहिले तत्कालका लागि क्वारेन्टाइनका लागि दिने घोषणा गरेको छु, पछि सक्ने अरू पनि सहयोग गर्छु ।’
प्रदेश २ सरकारले मात्र विभिन्न ठाउँमा कोरोना भाइरस संक्रमणको रोकथाम र नियन्त्रणका लागि क्वारेन्टाइन बनाउने घोषणा गरेको थियो । सामाजिक विकास मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार वीरगञ्जको केडिया डेन्टल कलेज, गौरको गौर नर्सिङ इन्स्टिच्युट, होटल सिया पैलेस र धनुषाको मिथिला आयुर्वेद केन्द्र नगराइनमा क्वारेन्टाइन केन्द्रहरु सञ्चालन गर्ने निर्णय गरिएको छ । धनुषाको मिथिला आयुर्वेद केन्द्र नगराइन पनि राजपाका महासचिव राजीव झाको रहेको छ । उनले जोसँग केही छ, आफ्नो स्तरबाट सहयोग गर्नुपर्ने बताए ।
कोरोना भाइरसका रोगीको उपचारका लागि वीरगञ्ज मेडिकल कलेज, जनकपुरको जानकी मेडिकल कलेजको सिटी अस्पताललाई प्रदेश २ सरकारले तोकेको छ । त्यसका साथै प्रदेशका सबै जिल्ला अस्पतालमा १० बेडको आइसोलेसन वार्ड तयार गरी संचालनमा ल्याउने निर्णय भएको छ । कोरोना भाइरसका शंकास्पद व्यक्तिहरू, रोगीहरूलाई एम्बुलेन्स सेवा, तथा क्वारेन्टाइन केन्द्रहरू र अस्पतालहरूलाई सुरक्षा व्यवस्थाका लागि जिल्ला प्रशासनमा अनुरोध गर्ने निर्णयसमेत भएको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्: