Bagmati Samachar Logo

‘लकडाउन’ भएपछि के हुन्छ ?

काठमाडौं । ७ चैत । कोरोना भाइरस (कोभिड–१९) का कारण यतिबेला विश्व नै आक्रान्त बनेको छ । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस यतिबेला विश्वका धेरैजसो मुलुकमा फैलिएको छ । चीनपछि सबैभन्दा बढी मारमा इटाली परेको छ ।

आजसम्म इटालीमा मात्र ३ हजार ४ सय मानिसले कोरोना भाइरसका कारण ज्यान गुमाइसकेका छन् । १२ मार्चमा इटालीले देशका केही क्षेत्रहरू लकडाउन गरेको थियो । आज इटलीले ६ करोड जनतालाई लकडाउनमा राखेको छ ।

लकडाउन भनेको आमनागरिकलाई घरभन्दा बाहिर ननिस्कन भनिएको हो । अतिआवश्यक कामबाहेक कसैले पनि घरबाहिर निस्कन पाउँदैन । लकडाउनमा भोजभतेर, यात्रा, भेला हुन प्रतिबन्ध लगाएको हुन्छ । बाहिर निस्कनै परे सरकारबाट अथवा तोकेको निकायबाट अनुमति लिएर बाहिर निस्कन पाउँछन् । योभन्दा बाहेक कसैले पनि घरबाहिर निस्कन पाउँदैनन् ।

यो विशेष परिस्थितिमा मात्र लागू हुन्छ । अहिले विश्वमा फैलिएको कोरोना भाइरसका कारण धेरै मुलुकले सीमित क्षेत्रमा लकडाउन गरेका छन् । महामारीको रुप लिएको कोरोना भाइरस फैलिन नदिन प्रभावकारी माध्यम लकडाउन बनेको छ ।

यसलाई अझ प्रष्ट रूपमा भन्ने हो भने ‘होम क्वारेन्टाइन’ अथवा ‘सेल्फ क्वारेन्टाइन’ आफ्नै घरमा अरुसँग अलग भएर बस्नु हो । यसले गर्दा धेरै मानिसको भेटघाट हुँदैन । यसले एकबाट अर्कोमा रोग कम सर्छ । यो लकडाउन रोग प्रभावित क्षेत्रमा भएको छ ।

नेपालमा पनि पछिल्लो समयमा लकडाउनको चर्चा चलेको छ । यस्तो भएमा नेपालका केही भागहरू लकडाउन हुने सम्भावना रहन्छ । यसमा सबैभन्दा बढी जनसंख्या भएको राजधानी क्षेत्र हो ।

यो क्षेत्र लकडाउन भएमा सबै मानिसहरू घरमा नै बस्नुपर्ने छ । यो भनेको एक ठाउँमा फैलिएको रोग अर्को ठाउँमा नफैलियोस् भन्ने हो । लकडाउन अहिलेसम्म पूरा देशभरि संसारमा कहीँ पनि लागू भएको छैन ।

चीनले वुहानमा पहिलो पटक लकडाउन गरेको थियो । वुहानबाट बाहिर जान र बाहिरबाट वुहान आउन चिनियाँ सरकारले प्रतिबन्ध लगाएको थियो । अथवा सरकारले वुहानलाई लकडाउन गरेको थियो ।

लकडाउन भनेको भीडभाड जम्मा नहुनु हो । लकडाउन गर्दा कोही पनि जम्मा हुन पाउँदैनन् । सरकारले योभन्दा पहिला २५ जनाभन्दा बढी जम्मा हुन नपाउने घोषणा गरेको छ । यो पनि लकडाउनको पहिलो चरण हो । उसो त सरकारले स्कुल, कलेज, जिम, सिनेमा हल, सभा समारोहलगायतका कार्यक्रमहरू बन्द गराएको छ ।

होटल, रेस्टुरेन्टलगायतका व्यावसायिक संस्थानहरू पनि बन्द गर्न भनिसकेको छ ।