Bagmati Samachar Logo

नेकपाका शीर्ष नेताहरुको घरमै बास

६ चैत । काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरु घरमा नैबस्न थालेका छन् ।
उनीहरु अत्यावश्यक बाहेकका नियमित भेटघाट तथा पूर्वनिर्धारित कार्यक्रमलाई कटौती गर्दै घरमै बस्न थालेका हुन् । नेकपाले २१ फागुनमा नै सर्कुलर जारी गरेर ठूला कार्यक्रम स्थिगित गरेको हो । कोरोना भाइरसको कारण कार्यक्रम स्थिगित गरेको थियो ।
नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री समेत रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम र महासचिव विष्णु पौडेल लगायतका नेताहरु घरमै बस्न थालेको नेताहरुको निजी सचिवालयले जनाएका छन् ।

प्रचण्डको निजी सचिवालयका अनुसार अध्यक्ष प्रचण्डले बिहीबारबाटै अत्यावश्यक कामबाहेकका भेटघाट बन्द गरिसकेका छन् ।
प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ले अध्यक्ष प्रचण्डले नियमित भेटघाट तथा छलफलहरु बिहीबारबाटै बन्द गरेको जानकारी दिए ।

‘अध्यक्षज्यूले नियमित भेटघाट बन्द गर्नुका साथै बाहिरका औपचारिक र पूर्वनिर्धारित कार्यक्रमहरु पनि स्थगन गर्नुभएको छ,’ सापकोटाले भने, ‘अति आवश्यक काम पर्दामात्रै भेटघाट गर्ने भन्नुभएको छ ।’
त्यस्तै प्रचण्डकी स्वकीय सचिव गंगा दाहालले सामाजिक सञ्जाल फेसबुकमामार्फत भनेकी छन्, ‘विश्वभर माहामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण अध्यक्ष कमरेड प्रचण्डद्वारा गरिने सम्पूर्ण भेटघाट(अत्यावाश्यक बाहेक) हाललाई स्थगित गरिएको छ ।’

उता अर्का वरिष्ठ नेता झलनाथ खनालले पनि सेल्फ क्वारेन्टाइनमा बस्न थालेको भन्दै भेटघाट र बाहिरका कार्यक्रममा बिहीबारबाटै सहभागिता नजनाएको जनाएका छन् । उनले कोरोना संक्रमण त्रासका कारण आफ्नो जन्मदिनको शुभकामना समेत टेलिफोनमार्फत मात्र ग्रहण गरेका छन् । बिहीबार नेता खनालको ७० औं जन्मदिन हो ।

‘नेताज्यूले यो वर्ष पनि विगतमा जस्तै आफ्नो जन्मदिन ईलाममा कार्यकर्तामाझ बसेर मनाउने योजना बनाउनुभएको थियो । त्यसका लागि टिकट बुकिङ समेत भैसकेको थियो, तर कोरोनाका कारण कार्यक्रम परिवर्तन गरेर डल्लुस्थित निवासमै बसेर टेलिफोनमार्फत शुभकामना ग्रहण गर्नुभयो’, नेता खनालका स्वकीय सचिव कृष्ण भट्टराईले भने, ‘घरमा आएर शुभकामना दिन चाहनेहरुलाई पनि यो पटक टेलिफोनबाटै दिनुस् भनेर घरमा नआउन सुझाव दिनुभयो ।’

कोरोना संक्रमणको त्रास फैलिएसँगै नेपाल सरकारले सतर्कता अपनाउन सवै नागरिकलाई आग्रह गर्दै आएको छ । त्यस्तै अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन, सभा, सम्मेलन, भोजभतेर नगर्न र २५ जनाभन्दा बढि भेला नहुन सरकारले आग्रह गरेको छ ।

अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता खनालमात्रै होइन, उपाध्यक्ष वामदेव गौतम पनि सेल्फ क्वारेन्टाइनमा छन् । गौतमका स्वकीय सचिव दिपक टमाटाका अनुसार उपाध्यक्ष गौतमले विगत केही दिनअघिबाटै सतर्कता अपनाउँदै आएका छन् ।

‘उपाध्यक्षज्यू अत्यावश्यक कामबाहेक घरबाट बाहिर निस्कनुभएको छैन । पछिल्लो समय घरमै हुने भेटघाट पनि ठप्पजस्तै छ’, टमाटाको भनाइ छ । नेता गौतमले यसअघि गत माघमा भएको पार्टीको केन्द्रीय समिति बैठकमा सहभागी नेताहरुलाई कोरोना संक्रमणबाट जोगिन र जोगाउन भन्दै बैठकस्थलमै मास्क नै वितरण गरेका थिए ।

त्यस्तै नेकपाका महासचिव विष्णु पौडेल पनि बुधबारबाटै घरमा बसेका छन् ।

पौडेलले भने ‘म बुधबारबाटै सेल्फ क्वारेन्टाइनमा बसेको छु । बुधबार बेलुका सचिवालय बैठकपछि बाहिर निस्केको छैन’।

दाहाल, खनाल र गौतम लगायतका शीर्ष नेता घरमा बसेपनि अर्का नेता माधवकुमार नेपाल भने सार्वजनिक कार्यक्रममै व्यस्त छन् । उनी ५ नम्बर प्रदेशका विभिन्न जिल्लाको भ्रमणमा छन् ।
नेकपाको नौ सदस्यीय सचिवालयका अर्का नेता तथा प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओली केही समयअघि मात्रै मिर्गौला प्रत्यारोपण गरेर बालुवाटारमा चिकित्सकको निगरानीमा छन् ।