Bagmati Samachar Logo

कोरोनाको झुटो प्रचार गर्नेलाई ६ महिना कैद हुने

६ चैत । काठमाडौं । गृह मन्त्रालयमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन कार्यकारी समिति बैठकले भारतीय सीमा क्षेत्रबाट कोरोना भाइरसको उच्च जोखिम रहेको निष्कर्ष निकालेको छ । खुला सीमानाका कारण भारतबाट कोरोनाको संक्रमणको जोखिम उच्च रहेको निष्कर्ष निकालेको हो ।

कोरोनाको पूर्व तयारी र प्रतिकार्य योजना सम्बन्धमा छलफल गर्न बसेको उक्त बैठकले उत्तरतर्फका नाकाभन्दा दक्षिणका नाकाबाट जोखिम बढेको निष्कर्ष निकालेको छ ।

भारतमा तिव्र गतिमा फैलिरहेको कोरोनाको प्रभाव नेपालमा पनि पर्न सक्ने तर्फ सचेत रहनुपर्ने र सीमा नाकामा हुने चेकजाँचलाई थप कडाई गर्नुपर्ने निष्कर्ष कार्यकारी समितिको बैठकको छ ।

चेकजाँचमा कडाई गरी नेपालभित्र प्रवेश गर्न नदिने योजनाका साथ अगाडी बढ्ने विषयमा बैठकमा छलफल भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले बताए ।

कोरोनाको झुटो प्रचार गर्ने र अफवाह फैलाउनेलाई कडा कारवाही गर्न सबै जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन पनि दिइएको छ । झुटो प्रचार गर्ने र अफवाह फैलाउनेलाई १ लाख जरिवाना र ६ महिना कैद हुने व्यवस्था रहेको छ ।

यसैगरी धेरै सेवाग्राही जमघट हुने सरकारी कार्यालयहरु समेत केही समय बन्द गर्ने विषयमा पनि बैठकमा छलफल भएको छ ।

मालपोत कार्यालय, विद्युत प्राधिकरण लगायतका कार्यालयहरुमा सेवाग्राहीको भीड हुने गरेको उल्लेख गर्दै कार्यकारी प्रमुख पोखरेलले पानी, विद्युतको महसुल तिर्ने वा अन्य राजस्व बुझाउने कार्यालयहरुसँग समन्वय गरी यो महिना नतिर्दा लाग्ने जरिमाना मिनाहा गर्ने वातावरण मिलाउने र बसपार्क जस्ता धेरै भीड हुने ठाउँमा सतर्कता अपनाउने विषयमा पनि बैठकमा छलफल भएको बताए ।