Bagmati Samachar Logo

जानकारी बीना नै भारतीय प्रहरी पोसाकसहित नेपाल छिरेपछि

४ चैत । काठमाडौं । सोमबार साँझ भारतीय प्रहरी पोशाकसहित चोर पक्राउ गर्न भनी दैलेख सदरमुकाममा आएका छन् । दैलेखकै एक युवकले भारु ५० लाख चोरी गरेर दैलेखमा आएको भन्दै खोजतलासीका लागि पोशाकसहित भारतीय प्रहरी सदरमुकाम आएको बताएका छन् । उनीहरु स्थानीय प्रशासन र प्रहरीलाई कुनै पनि जानकारी नदिई नेपाल छिरेको पाइएको छ ।

पोशाकसहित जिल्ला सदरमुकाममा निस्फिक्री हिँडिरहेका भारतीय प्रहरी जिल्ला प्रहरी कार्यालय दैलेखमा गएका थिए । उनीहरुले बिहान मात्रै जिल्ला प्रहरी कार्यालयमा आफूहरु दैलेख आएको जानकारी गराएका थिए । अहिले सोही विषयलाई लिएर छलफल भइरहेको दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले बताए ।

भारतमा काम गर्दै आएका दैलेखका एक युवक झण्डै रु ५० लाख चोरी गरी फरार भएपछि खोजी गर्न दैलेख आएको भारतीय प्रहरीले दैलेख प्रहरीलाई बताएका छन् । भारतीय प्रहरीका सई विजय विवेकको नेतृत्वमा तीन प्रहरीसहित चार जनाको टोली दैलेख आएको हो ।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक उपेन्द्रप्रसाद आचार्यका अनुसार भारत, हरियाणा प्रदेश यमुना नगर जिल्लाबाट तीन प्रहरीसहितको चार जनाको टोली दैलेख आएको हो ।

उनीहरुले पोशाक लगाउनु हुँदैन भन्ने थाहा नभएको बताएपछि हामीले सादा पोशाकमा हिँड्न भनेका छौं,’ प्रहरी निरीक्षक आचार्यले भने, भारतीय प्रहरीलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको छैन, उनीहरु हाम्रो सम्पर्कमा आफैँ आएका हुन् ।

मजदूर किसान पार्टीका जिल्ला कमिटी सचिव लक्ष्मी विकले भने प्रदेश नं ५ र कर्णाली प्रदेश हुँदै सदरमुकाममा भारतीय प्रहरी सूचना र अनुमतिविना नेपाल आउनु आपत्तिजनक भएको बताए ।