Bagmati Samachar Logo

एउटा इयरफोन जसले हत्यारा पत्ता लगायो

काठमाडौं । ३ चैत । १४ फागुनमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ११ कलुवापुरको एक टोलमा लोग्ने स्वास्नीको हत्या भयो ।

१४ फागुन राति कलुवापुरको कटान टोलका ५२ वर्षीय जयलाल भण्डारी र उनकी २२ वर्षीया श्रीमती धनादेवीको धारिलो हतियार प्रयोग गरी भएको हत्या घटनाका अभियुक्तलाई भने प्रहरीले पक्राउ गरेको छ ।
भण्डारी दम्पतीको हत्या अभियुक्त पत्ता लगाउन प्रहरीलाई सजिलो भने थिएन । घटनास्थलमा अभियुक्तले त्यस्तो कुनै भरपर्दो प्रमाण छाडेका पनि थिएनन् ।
तर, उक्त हत्या घटना अनुसन्धान प्रहरीले १७ दिनमै सकेको छ । जयलाल भण्डारी दम्पती हत्यामा संलग्न भएको आरोपमा उनकै छोरा २६ वर्षीय भरतबहादुर भण्डारीलाई कञ्चनपुर प्रहरीले पक्राउपछि सोमबार सार्वजनिक गरेको छ ।

उनलाई आइतबार डडेल्धुराको अमरगढीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) मुकुन्द मरासिनीले बताए ।

धनादेवी भने भरतबहादुर भण्डारीकी सौतेनी आमा हुन् । उनका बुबा जयलालले भरतकी आमाको क्यान्सरका कारण मृत्यु भएपछि दोस्रो विवाह गरेका थिए ।

सौतेनी आमा ल्याएको भन्दै हत्या

कञ्चनपुर प्रहरीका अनुसार भरतबहादुर भण्डारीले आफूसँग कुनै सल्लाह नै नगरी सौतेनी आमा भित्र्याएको रिसमा हत्या गरेको जनाएको छ । त्यसबाहेक अंशबण्डा र सम्पत्ती भोगचलनका विषयमा समेत उनीहरूबीच झैझगडा हुने गरेको प्रहरीको भनाइ छ ।

जयलाल भण्डारीको पुर्ख्यौली घर डडेल्धुरा भए पनि उनी कञ्चनपुर र छोरा डडेल्धुरा बस्दै आएका थिए ।

प्रहरीका अनुसार भरत आफ्ना बुबाको हत्या गर्ने उद्देश्यले भन्दा पनि १३ फागुनमा मोटरसाइकल चालक अनुमतिपत्र ‘लाइसेन्स’ लिन कञ्चनपुर पुगेका थिए ।

१४ फागुनमा ट्रायल परीक्षा दिएर उनी डडेल्धुरा नै फर्किन कैलालीको गोदावरीसम्म पुगेका थिए । ट्रायल परीक्षामा भने उनी फेल भएको एसपी मुकुन्द मरासिनीको भनाइ छ ।

गोदावरीबाट फेरि कञ्चनपुर फर्केका भरतले बाटोमा मादक पदार्थ सेवन गरेर आफ्नै बुबा र आमाको धारिलो हतियार प्रयोग गरेर हत्या गरेका हुन् ।

यसअघिसमेत भरतविरुद्ध २०७३ सालमा ज्यान मार्ने उद्योगमा मुद्दा चलेको प्रहरीको भनाइ छ ।

इयरफोन हत्याको महत्त्वपूर्ण ‘क्लू’

राति हत्या भएको अवस्थामा भण्डारीको घरमा प्रहरीले भिभो ब्राण्डको इयरफोन एक थान फेला पारेको थियो । उक्त इयरफोन मृत फेला परेका जयलाल भण्डारी दम्पतीकै हो या हत्याराले छाडेर गएका हुन् भन्नेमा प्रहरीलाई शंका लाग्यो । उक्त इयरफोन प्रहरीले नियन्त्रणमा लियो ।

भण्डारी दम्पतीले भिभो ब्राण्डको इयरफोन बोक्ने गरेको नदेखिएपछि प्रहरी ढुक्क थियो, उक्त इयरफोन शंकास्पद व्यक्तिको हो भनेर । त्यो इयरफोन अनुसन्धान गर्दै जाँदा भण्डारीकै छोरा भरतको भएको पुष्टि भएको कञ्चनपुरका एसपी मरासिनीले बताए

‘भरतले दिएको बयानमा पनि आफूले सुरुमा आमा धनादेवीको हत्या गरेको र त्यही क्रममा इयरफोन छुटेको साविती बयान दिएका छन्’, मरासिनीले भने ।