Swornakshar Logo

पिसाब फेर्ने बहानामा हत्कडीसहित थुनुवा फरार

२५ फागुन । काठमाडौं । एक व्यक्ति चौकीबाट हतकडीसहित फरार भएका छन् । आत्महत्या गर्न लागेका बेला बचाएर नियन्त्रणमा राखिएका उनी पिसाब फेर्ने बहानामा शनिबार मध्यरातमा हतकडीसहित भागेका हुन् ।

प्रहरी चौकी काचनको नियन्त्रणमा रहेका बोदेबर्साइन नगरपालिका ८ का ३० वर्षीय महेश यादव पिसाब फेर्ने बहानामा भागेका हुन् ।

शनिबार राति १० बजेतिर अत्यधिक मदिरा सेवन गरी घर पुगेका यादव र उनकी पत्नीबीच ुरक्सी पिएको विषयमा विवाद भएको थियो ।

त्यसक्रममा यादवले घरमै पासो लगाइ आत्महत्याको प्रयास गरेका थिए । छिमेकिले खबर गरेपछि पुगेको प्रहरीले सुरक्षाका लागि उनलाई प्रहरी चौकीको हिरासत कक्षमा राखेका थिए ।

तर पक्राउ गरेकै दिन राति २ बजेतिर उनले पिसाब लाग्यो भन्दै गुहार मागेपछि प्रहरीहरूले हिरासत कक्ष खोलेर उनलाई नजिकै पिसाब गर्न जान दिएका थिए । तर, अँध्यारोको फाइदा उठाउँदै उनी भागेका हुन् ।

आइतबार बिहान उनको घरमा पनि खोजतलास गरिएको र फेला नपरेको प्रहरीले बताएको छ ।

घटनाबारे अनुसन्धानसँगै हिरासतबाट फरार भएका यादवको खोजी भइरहेको चौकीका प्रहरी निरीक्षक यमलाल बन्जाडेले बताए ।