विद्यार्थीलाई हात चिर्न लगाउने शिक्षिका पक्राउ, अभद्र व्यवहारको मुद्दा लगाउने तयारी

काठमाडौं । २४ फागुन । परीक्षामा कम अंक ल्याएको भन्दै आफ्नै विद्यार्थीलाई ब्लेडले हात चिर्न लगाउन शिक्षिकालाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौँको जडिबुटीस्थित जागृति एकेडेमीकी सामाजिक विषयकी शिक्षिका सीतालक्ष्मी कर्मचार्यले कक्षा ६ र ७ का ३४ विद्यार्थीलाई कम नम्बर ल्याएको भन्दै हात चिर्न लगाएकी थिइन्।
उनलाई महानगरीय प्रहरी वृत्त बानेश्वरको टोलीले शनिबार दिउँसो पक्राउ गरेको महानगरीय प्रहरी परिसरका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले जानकारी दिए।
‘शिक्षिकालाई पक्राउ गरिएको छ, उनीमाथि अहिले सोधपुछ भइरहेको छ’, डीएसपी बोगटीले नेपालखबरसँग कुरा गर्दै भने, ‘अभ्रद्र व्यवहार तथा बालबालिकामाथि शारीरिक र मानसिक यातनामध्ये के विषयमा मुद्दा लगाउने भन्ने बारेमा छलफल भइरहेको छ।’
डीएसपी बोगटीले प्रहरीले घटनाको विषयलाई लिएर विद्यालय प्रशासन, पीडित विद्यार्थी र तिनका अभिभावकहरुसँग बुझिरहेको बताए। उनले अहिलेसम्म उनीविरुद्ध विद्यालय र पीडित पक्ष कसैले पनि जाहेरी नदिएको बताए।
‘बालबालिकालाई सामान्य किसिमको टचर त दिन पाइँदैन’, उनले भने, ‘शिक्षकाले त हात नै चिर्न लगाएकी छन्, यो शारीरिक यातनाभित्र परे पनि उनीमाथि अभद्र व्यवहारको मुद्दा लगाउने तयारी भएको छ।’
विगत १२ वर्षदेखि सोही विद्यालयमा पढाउँदै आएकी सीतालक्ष्मीले गत साता २० पूर्णांकको कक्षा परीक्षा लिएकी थिइन्। सोही परीक्षामा १५ भन्दा कम अंक ल्याउने विद्यार्थीलाई उनले हात चिर्न लगाएकी हुन्। सबैभन्दा कम अंक ल्याउने विद्यार्थीलाई सबैभन्दा बढी र १५ को हाराहारीमा अंक ल्याउने विद्यार्थीलाई कम ठाउँमा चिर्न लगाएको बताइएको छ।
विद्यार्थीलाई हात चिर्न लागाउने शिक्षका सीतालक्ष्मीले आफूबाट गल्ती भएको तर आफूले थोरै मात्र चिर्न भनेपनि विद्यार्थीले धेरै चिरेको प्रतिक्रिया दिएकी छन्।
विद्यालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सामाजिक शिक्षिका कर्माचार्यले शारीरिक दण्ड दिएको विद्यार्थी तथा अभिभावकबाट गुनासो आएपछि विद्यालय व्यवस्थापन समितिले शुक्रबारबाट लागू हुनेगरी शिक्षक पदबाट अवकास दिने निर्णय गरिएको जनाएको छ।
प्रतिक्रिया दिनुहोस्: