Swornakshar Logo

सरकार असफल भए प्रतिगमनको खतराःनारायणकाजी श्रेष्ठ

काठमाडौँ । २४ फागुन । नेकपाका सचिवालय सदस्य तथा पार्टीको प्रवक्ता नारायणकाजी श्रेष्ठले यो सरकार असफल भए प्रतिगमन हुने बताए ।
शनिबार ललितपुरमा आयोजित प्रेस संगठन नेपाल उपत्यका प्रदेश कमिटीको प्रथम भेला एवं सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले यो सरकार असफल भए कुनै न कुनै ढंगबाट विदेशी हस्तक्षेप वा प्रतिगमनको खतरा उत्पन्न हुने बताए ।
समाजवादका आधार तयार गर्न सरकारलाईसफल बनाउनु पर्ने बताउँदै, यसका लागि वस्तुपरक र अध्ययनशील पत्रकारिता गर्न पत्रकारहरुलाई आव्हान गरे ।
कार्यक्रममा बोल्दै प्रवक्ता श्रेष्ठले प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी शर्मा ओलीको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै तत्कालै पार्टी र सरकारलाई तिव्र गतिका साथ अघि बढाउन सक्षम भई मुलुक रुपान्तरणको लागि सक्रिय हुनुहुनेमा विश्वास व्यक्त गरे । मुलुकको रुपान्तरण तथा विभिन्न चरणमा भएका परिवर्तनकारी आन्दोलनमा पत्रकारले खेलेको भुमिका असाधारण रहेको उल्लेख गर्दैै उहाँले लोकतन्त्रको स्थापनासँग सवैभन्दा विकसित तवरले अघि बढेको नै प्रेस जगत भएको बताए ।
सूचना प्रविधिको विकास सँगै अझ वढी प्रेस जगतको आवश्यकता बढेको उल्लेख गर्दै समाजवादको आधार तयार पार्ने मेरुदण्डको रुपमा प्रेस रहेको बताए । नेपालको सामाजिक, आर्थिक, सास्कृतिकलगायतका क्षेत्रहरुको रुपान्तरणको लागि महत्वपूर्ण जिम्मेवारी प्रेस संगठनका पत्रकाहरुको रहेको उल्लेख गरे ।
अध्ययन नै क्रान्तिकारी पत्रकार हुने उल्लेख गर्दै उनले मुलुक रुपान्तरण गर्न कुनै पार्टी र गुटको नभई राम्रो पत्रकार हुनुपर्नेमा जोड दिए । राम्रो पत्रकार आवश्यक रहेको तर कुनै गुट पार्टीको पर्चाकार हुनु नहुने बताउँदै आलोचनात्मक चेत तथा तथ्य नभएमा पत्रकार हुनै नसक्ने समेत उनले दावी गरे ।
सामाजिक न्यायसहितको समृद्धिको लक्ष्य पुरा गर्न पार्टी एकता भएको उल्लेख गर्दै उहाँले रणनैतिक समाजवादको आधार तयार गर्नु नै अहिले पार्टीको मुख्य कार्यभार भएको बताउनुभयो । क्रान्तिको नयाँ मोडेलमा नेपाल अघि बढेको बताउँदै उहाँले विश्वभरिका न्याप्रेमी शक्तिहरु सफलताको कामना गरिरहेको बताउनुभयो । नेपालको कम्युनिष्ट आन्दोलनले नयाँ बाटोका साथमा अघि बढ्दै विश्वमा नयाँ प्रयोग तथा विस्तार हुने डरले कतिपय पुँजीपति वर्ग तथा साम्राज्यवादी शक्तिहरु असफल बनाउन गिद्धेनजरले हेर्दै असफलता बनाउन लागि परिरहेकाले त्यसलाई विशेष रुपमा सजग हुनुपर्नेमा उनले जोड दिए ।
नेकपाका स्थायी कमिटी सदस्य तथा बाग्मती प्रदेश कमिटीका इन्चार्ज अष्टलक्ष्मी शाक्यले मानिसको इच्छाशक्ति तिव्र भएको खण्डमा कोरोना भाइरसले केही समस्या उत्पन्न हुन नसक्ने उल्लेख गर्दै उनले उक्त हल्ला तथा भ्रमलाई चिर्दै यथार्थपरक जनतामा जानकारी बढाउन प्रेस संगठनले जवाफदेहिताका साथ अघि बढ्न आग्रह गरीन । संख्यात्मक रुपले मात्र बलियो भएर नहुने औल्याउँदै उनले गुणात्मक रुपमा विकास र विस्तार गर्नु अपरिहार्य रहेको बताइन । संगठनमा महिला पत्रकारको सहभागित बढाउनुपर्ने बताउँदै उनले संगठन तथा पार्टीलाई समानुपातिक तथा विभेदमुक्त बनाउनुपर्ने बताइन ।