Swornakshar Logo

कोरोनाको जोखिम न्यूनीकरण गर्न सचेत रहने हो तर्सने होइनः गगन थापा

२३ फागुन । काठमाडौं । कोरोनाको जोखिम न्यूनीकरणका लागि भइरहेको पहल तथा कोरोना भाइरसविरुद्धको राष्ट्रिय संकल्प आवश्यक रहेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव पेस गरेको छ ।

नेपाली कांग्रेसका सांसद गगन थापाले प्रतिनिधिसभाको शुक्रबारको बैठकमा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव प्रस्तुत गरेका हुन् । कोरोनाबाट बच्नका लागि एकीकृत कार्यसञ्चालन गर्न र तत्काल एक्सन प्लान बनाई सार्वजनिक गर्न सरकारलाई आग्रह गरे ।

नेपालमा अहिलेसम्म कोरोनाको संक्रमण नभए पनि इरानको जस्तो एकै पटक संक्रमणको अवस्था देखिए के गर्ने भन्ने बारेमा पनि समयमै सोच्नुपर्ने उनले बताए । सीमामा चेक जाँचको क्षमता, स्वास्थ्य चेक जाँचको क्षमतालगायत विभिन्न कारणले विश्व स्वास्थ्य संगठनले नेपाललाई उच्च जोखिममा राखेको भन्दै उनले तत्काल गर्नुपर्ने तयारीका बारेमा सबै सरकार, सबै मन्त्रालय, संसद, समुदायलगायत सबै एकै ठाउँमा आएर काम गर्नुपर्ने आवश्यकता देखाए ।

सबै देशले आवश्यक तयारी गरेको र भिसा रद्द पनि गर्न थालेको उल्लेख गर्दै उनले नेपालभन्दा बाहिरबाट नेपाल आउनेहरूको ट्रयाकिङ गर्न आवश्यक रहेको बताए । उनले मन्त्रालयअनुसारका कुरा बाहिर आउँदा सर्वसाधारणमा त्रास र दुविधा बढाएको भन्दै एकद्वार प्रणालीबाट सूचना र जानकारी सार्वजनिक गर्न पनि आग्रह गरे ।

विवाह ब्रतबन्ध, भोजभतेर र सभासम्मेलन रोक्न भने पनि विद्यालय खुल्ला भएको, संसद बैठक सञ्चालन भइरहेको, सरकारकै मन्त्री विदेश भ्रमणमा रहेको भन्दै सरकारलाई एकद्वार प्रणालीबाट सूचना सम्प्रेषण गर्न र विदेशबाट फर्किएकाको राम्रो चेकजाँचको व्यवस्था गर्न आग्रह गरे ।

विदेशी नागरिक नआउने, सभा सम्मलेन नगर्ने भन्नेबित्तिकै, होटल, एयलायन्ससँगै बैंकलगायत मुलुकका विभिन्न क्षेत्र प्रभावित हुने भन्दै उनले आवश्यक तयारी गर्न आग्रह गरे ।

बढी जानकारी भए पनि मानिस त्रसित हुने भन्दै उनले कोरोना संक्रमण नियन्त्रणका लागि आवश्यक तयारी रहेको तथा कोरोनाका कारण कुनै पनि सामाग्रीको आपूर्तिलाई तलमाथि गर्न दिन्नौँ भनेर सरकारले जनतालाई आश्वस्त गर्नुपर्ने बताए ।

उनले काला बजारी अन्त्य गर्नका लागि प्रभावकारी ढंगले अघि बढ्न आग्रह गरे । उनले खाली रहेका भवनहरूलाई आवश्यक पर्दा प्रयोग गर्न सक्ने गरी तयारी अवस्थामा राख्न, क्रिटिकल केयरको बेड विस्तार गर्न, अस्पताललाई आधारमा राखेर काम गर्नुपर्ने कामहरूको सूची तयार पार्न स्वास्थ्य मन्त्रालयलाई आग्रह गरे ।

उनले भने, सचेत रहने हो तर्सने होइन । नागरिकलाई नतर्साऊँ । भयभीत पनि नबनाऊँ । नेपालका एउटा मात्रै केस नदेखिएको कुराले आनन्दले नबसौँ । हामीले समयको सुविधा पायौँ । इरानले पाएन । कोरियाले पाएन । तर कोरियासँग क्षमता थियो । हामीले पाएका छौँ । हामीले अहिलेकति मात्रै सुझबुझ पुर्‍यायौँ भने आत्तिनु पर्दैन ।’

उनले विश्व स्वास्थ्य संगठनले बिहीबार दिउँसोसम्म सार्वजनिक गरेको कोरोनाको अवस्थासम्बन्धी तथ्यांक जानकारी दिँदै नेपालले आवश्यक तयारी गर्न ढिलाइ गर्न नहुने बताए ।