Swornakshar Logo

सरकारले फिर्ता लियो गौशालाको १५ कट्ठा जग्गा

१८ फागुन । मोहत्तरी । महोत्तरीको गौशाला–५ स्थित गौशालाको नाममा रहेको जमिन फिर्ता लिएको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालको उपस्थितिमा उक्त जग्गा फिर्ता लिएको हो ।

लामो समयदेखि स्थानीयहरूले टहरा बनाएर व्यापार गर्दै आएको अन्दाजी १५ कठ्ठा जग्गामा बनेका टहरा भत्काइएका छन् । अर्यालले सरकारी जग्गा कसैले पनि कब्जा गर्न नपाउने बताइन् ।

उनले महोत्तरी जिल्ला गौशाला नगरपालिकास्थित निगोन गाई गौशालाको नाममा रहेको सरकारी जग्गा फिर्तापछि भनिन, ुकोही पनि सुकुम्बासी, भूमिहीन अन्यायमा नपर्ने तर सरकारी जमिन मनोमानी तरिकाले प्रयोग गर्न कसैलाई दिइने छैन ।ु

सरकारले कुनै पनि सुकुम्बासीलाई विस्थापित नगर्ने भन्दै सबैको व्यवस्थापन सरकारले गर्ने बताइन । ‘हामी भूमिहीन, सुकुम्बासीको समस्या समाधान गर्न हामी अगाडि बढेका छौँ’, मन्त्री अर्यालले भनिन्, ‘यसको व्यवस्थापन सरकार आफैँले गर्छ । त्यसैले कोही सुकुम्बासी अन्यायमा पर्नु हुँदैन । सुकुम्बासीलाई विस्थापित गर्दैनौँ, अरू व्यवस्थापन गर्छौं ।’

पछिल्लो समयमा सरकारले अतिक्रमित सरकारी र सार्वजनिक, गुठीको जग्गा फिर्ताको अभियान चलाएको छ ।

गौशालाको नाममा रहेको १४८ विगाह सरकारी जग्गामध्ये करिब १५ कट्ठा जग्गामा बनाइएका ३० वटा घर टहरा भत्काइएको हो ।

महोत्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी सूर्य खत्री, गौशाला नगरपालिकाका प्रमुख शिवनाथ महतो, सशस्त्र प्रहरी बल छिन्नमस्ता बाहिनी मुख्यालयका निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक गणेश ठाडामगर, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक माधवप्रसाद पुडासैनी, स्थानीय तहका नेताहरूलगायतको उपस्थितिमा उक्त स्थानका घरटहरा भत्काइएका हुन् ।

घरटहरा भत्काउन स्थानीयवासीहरूले पनि सहयोग गरेका थिए । सरकारी जग्गा फिर्ता गराउँदै मन्त्री अर्यालले यदि कसैले किनबेच गरेको नाममा पैसा बुझाएको भए जसलाई बुझाएको हो, उसैसँग फिर्ता माग्नसमेत भनिन् ।

सरकारले टहरा बनाएर व्यापार गरिरहेका स्थानीयलाई गत वर्ष उक्त स्थान खाली गर्न भनेको थियो । तर स्थानीयहरू नहटेपछि आज डोजर लगाएर नगरपालिकाको सहयोगमाा टहराहरू भत्काएको हो ।