Swornakshar Logo

अमेरिका पठाउने नाममा १ करोड ठगी गर्ने एक व्यक्ति पक्राउ

१६ फागुन । काठमाडौं । अमेरिका पठाइदिने भन्दै १ करोड ठगी गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका– ९, ज्यामिरेका ४१ वर्षीय विकास भन्ने केदार खड्का रहेका छन् ।

बिहीबार खड्कालाई पीडितहरूको उजुरीका आधारमा महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको टोलीले काठमाडौंको चाबहिलबाट पक्राउ गरेको हो ।

कागेश्वरी मनोहरा नगरपालिका– ७, थलीमा बस्दै आएका खड्काले विभिन्न व्यक्तिलाई अमेरिका पठाउने भन्दै पैसा उठाएका थिए ।

अमेरिका पनि नपठाएको र पैसा पनि फिर्ता नगरेपछि पीडितहरूले उजुरी दिएका थिए । पक्राउ परेका खड्कामाथि अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।