Swornakshar Logo

कञ्चनपुरमा घरभित्रै श्रीमान श्रीमती नै मृत अवस्थामा, हत्याको आशंका

१५ फागुन । काठमाडौं । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ११, कलुवापुरमा एक दम्पती घरभित्रै मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार ५२ वर्षीय जयलाल भण्डारी र उनकी श्रीमती २२ वर्षीया धनादेवी भण्डारी मृत अवस्थामा भेटिएका हुन् ।

उनीहरु आफ्नै घरका छुट्टाछुट्टै कोठामा मृत अवस्थामा भेटिएको प्रहरीले बताएको छ । हिजोदेखि नै बन्द रहेको घर बिहीबार दिउँसो दूध पुर्‍याउने मान्छे आएपछि मात्र घटना सार्बजनिक भएको थियो । दूध लिएर आएका दूधवालाले घरभित्र शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

श्रीमतीको घाँटीबाट रगत आएको देखिएकाले हत्या भएको हुनसक्ने आशंकामा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय झलारी र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोली रहेको छ । प्रहरीले घटनास्थल सिल गरेर आवश्यक जाँच सुरु गरेको बताइएको छ । प्रहरी स्रोतका अनुसार थप अनुसन्धानको लागि धनगढीबाट कुकुरसहितको प्रहरी टोली पनि मगाइएको छ ।