कार दुर्घटनामा परि सीपी मैनाली गम्भीर घाइते, थप उपचारका लागि काठमाडौं ल्याइँदै
![](https://www.bagmatisamachar.com/wp-content/uploads/2020/02/1582796565cp_mainali_ghaite_abastha_ko_p-1024x512.jpg)
१५ फागुन । काठमाडौं । नेकपा (माले) का महासचिव सीपी मैनाली सवारी दुर्घटनामा परि गम्भीर घाइते भएका छन् ।
प्रहरीका अनुसार महोत्तरीको बर्दिबासस्थित रातुको पुलमा उनी चढेको बा ७ च २१२० नम्बरको कार र विपरीत दिशाबाट आइरहेको ना ४ ख ७६६८ नम्बरको पिकअफ भ्यान एक आपसमा ठोक्किदा उक्त दुर्घटना भएको हो ।
घाइते मैनालीको बर्दिबासस्थित जनसेवा अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रमुख डीएसपी राजन चापागाईले बताए ।
झापाबाट मैनाली, उनका छोरा, बुहारी, नाति र चालकसहित काठमाडौं आउँदै गर्दा दुर्घटना भएको हो । उनीहरू सबैजना घाइते भएका छन् ।
दुर्घटनामा परि मनौलीका छोरा ३० बर्षीय सरोज मैनाली, बुहारी पुजा ढुङ्गाना मैनाली, ५ बर्षीय नाती एन मैनाली र चालक रामप्रसाद पौडेल घाईते भएका छन् । मैनालीको टाउको र शरीरको अन्य भागमा चोट लागेको छ भने बुहारी पुजाको दुवै खुट्टा भाँचिएको प्रहरीले बताएको छ । घाइते मैनालीलाइ थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याउने तयारी भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्: