Swornakshar Logo

मृत भेटिए फेवातालको डुङ्गा दुर्घटनामा बेपत्ता भएका लुइँटेल

१३ फागुन । काठमाडौं । सोमबार पोखराको फेवातालमा डुङ्गा सयर गर्ने क्रममा डुङ्गा पल्टिँदा बेपत्ता भएका युवा मृत भेटिएका छन् । बेपत्ता भएका काठमाडौंको कपनका २७ वर्षीय रामशरण लुइँटेल (सुमित) मृत फेला परेको प्रहरीले बताएको छ ।

वडा प्रहरी कार्यालय बैदामका डीएसपी यादव ढकालका अनुसार गण्डकी प्रदेश सशस्त्र प्रहरी गणबाट खटिएको गोताखोरसहितको उद्धार टोलीले खोजतलास गर्ने क्रममा मंगलबार दिउँसो लुइँटेललाई मृत अवस्थामा फेला पारेको बताइएको छ ।

लुइँटेलको शव खपौदी क्षेत्रबाट ४० फिट गहिरोमा डुबिरहेको अवस्थामा सशस्त्र प्रहरीका तालिमप्राप्त गोताखोर दीर्घनारायण पौडेल र दिपेन्द्र विष्टको टोलीले निकालेको ढकालले बताए ।

सोमबार दिउँसो खपौदीमा डुङ्गा सयर गर्ने क्रममा दुर्घटना हुँदा डुङँगामा सवार ३ मध्ये १ जना उनी बेपत्ता भएका थिए भने अन्य दुई जना कपनकै २७ वर्षीय सुविन चालिसे र २८ वर्षीय रुपेश अधिकारीको तत्कालै सकुशल उद्धार गरिएको थियो ।