Swornakshar Logo

फेवातालमा डुङ्गा पल्टिँदा १ जना बेपत्ता, २ को उद्धार

१२ फागुन । काठमाडौं । फेवातालमा सोमबार डुङ्गा पल्टिँदा एक जना बेपत्ता भएका छन् भने २ जनाको उद्धार गरिएको छ । डुङ्गा पल्टिँदा काठमाडौं महानगरपालिका– १२ का २५ वर्षीय सुमित लुइँटेल बेपत्ता भएका हुन् । उद्धार गरिएकामा काठमाडौंकै रूपेश अधिकारी र सुबिन चालिसे रहेको प्रहरीले बताएको छ ।

३ जना आफैँ डुङ्गा चलाएर खपैदीस्थित फेवाताल किनाराबाट फेवातालमा सवार गर्ने क्रममा डुङ्गा पल्टिएको प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार तीनै जना पोखरा घुम्नका लागि आएका थिए र उनीहरूले डुङ्गा चढ्दा अनिवार्य लगाउनुपर्ने लाइफ ज्याकेट पनि नलगाई डुङ्गामा सवार गरेको बताइएको छ ।

डुङ्गा पल्टिएको देखेर उद्धारका लागि गएका पोखरा– १८, खपौदीका ५० वर्षीय बुद्धि जलारी आफैँ बेहोस भएपछि उनीहरूलाई सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको हो । उनको मेट्रोसिटी अस्पतालमा उपचार भइरहेको वडा प्रहरी कार्यालय बैदामले बताएको छ ।

तालमा हराएका सुमित लुइँटेलको नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले खोजी गरिरहेका छन् ।