Swornakshar Logo

खरिपाटी क्वारेन्टाइन लगियो चीनबाट ल्याइएका नेपालीलाई

४ फागुन । काठमाडौं । चीनको वुहानबाट उद्दार गरी नेपाल ल्याइएका १७५ जनालाई खरिपाटीस्थित क्वारेन्टाइनमा लगिएको छ । २४ घन्टाभित्र थप स्वास्थ्य परीक्षण, समस्या देखिए टेकु वा पाटन लगिने

उनीहरुलाई चीनबाट नेपाल ल्याएपछि त्रिभुवन विमानस्थलमा आवश्यक स्वास्थ्य परीक्षण गरि क्वारेन्टाइनमा लगिएको हो । परीक्षणका क्रममा कसैको स्वास्थ्यमा पनि समस्या देखिएको छैन ।

खरिपाटीस्थित क्वारेन्टाइनमा उनीहरुलाई बस्न विशेष व्यवस्था मिलाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सम्भावित जोखिमलाई मध्यनजर गर्दै विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार नै उनीहरूलाइ राखिने बताएको छ।

क्वारेन्टाइनमा बसेका सबैको हरेक दिन स्वास्थ्य परीक्षणका साथै दिनमा दुई पटक ज्वरो नापिनेछ । क्वारेन्टाइनमा ज्वरो नाप्न पनि हरेकका लागि अलग थर्मोमिटरको व्यवस्था गरिएको छ।

स्वास्थ्य मन्त्रालयबाट खटिएका स्वास्थ्यकर्मीको टोलीले उनीहरु सबैको २४ घन्टाभित्र थ्रोट स्वाब (घाँटीको र्‍याल) को नमुना झिकेर प्रयोगशालामा पठाउने छन् भने १४ औं दिनमा पनि पुनः र्‍यालको नमुना परीक्षण हुनेछ ।

क्वारेन्टाईनमा करिब ६० कोठामा एक जनादेखि तीन जनासम्म बस्नेगरी व्यवस्था मिलाइएको छ भने ६ जनाले एउटा शौचालय प्रयोग गर्नेछन् ।

क्वारेन्टाईनमा खाना, पानी, शौचालय, स्वास्थ्य उपचार, संक्रमण रोकथाम तथा नियन्त्रणको सबै व्यवस्थापन गरिएको छ ।
विशेष स्वास्थ्य जाँचका लागि क्लिनिकको व्यवस्था गरिनेछ ।