Swornakshar Logo

चीनबाट फर्किने नेपालीहरुलाई खरिपाटी तालिम केन्द्रमा राखिने

२१ माघ । काठमाडौं । चीनबाट फर्किने नेपालीहरुलाई भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा राख्ने तयारी सरकारले गरेको छ। बैठकले तालिम केन्द्रको पूर्वाधार र अन्य वस्तुस्थितिबारे निरीक्षण गरेर अन्तिम टुंगो लगाउने पनि निर्णय गरेको छ।

स्वास्थ्य र भौतिक पूर्वाधार मन्त्रालयका अधिकारीले निरीक्षण गरेपछि यसको अन्तिम निर्णय गरिनेछ। उच्च स्रोतका अनुसार मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यलयमा बसेको सुरक्षा निकायका प्रमुखहरु सहभागी बैठकले खरिपाटीलाई सम्भावित स्थलका रुपमा छनोट गरेको तर यसको अन्तिम निर्णय गर्न बाँकी रहेको स्रोतले बतायो। कोरोना भाइरसको संक्रमण फैलिएको चीनको हुबेइ प्रान्तमा रहेका नेपाली विद्यार्थीलाई नेपाल फर्काउने तयारी सरकारले गरेको हो।

त्यहाँ रहेका १ सय ८० विद्यार्थीलाई नेपाल फर्काइँदैछ। स्वदेश फर्काएपछि उनीहरुलाई १४ दिन क्वारेन्टाइनमा राखिनेछ। चीनमा रहेको नेपाली राजदुतावासले चीनमा रहेका विद्यार्थी फर्काउनको लागि तयारी पूरा भएको जानकारी गराइसकेको छ। प्रतिनिधिसभाको मंगलबारको बैठकमा विशेष समयमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरसबाट बच्नका लागि सरकार तयार रहेको बताएका थिए।

चीनबाट नेपाल आउन चाहने नेपालीलाई ल्याउने तयारी अन्तिम चरणमा पुगेको मन्त्री ढकालले बताए। ढकालका अनुसार कोरोना भाइरसको संक्रमण देखिएका बाहेक आउन चाहने नेपालीलाई सरकारले विलम्ब नगरी ल्याउने तयारी गरेको छ।