Swornakshar Logo

कोरोना भाइरस त्रासः नेपालीलाई चीनबाट फिर्ता ल्याइहाल्नु नपर्ने सरकारको दाबी

१६ माघ । काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनको वुहान प्रान्तलगायत अन्य क्षेत्रमा रहेका नेपालीहरूलाई फिर्ता गर्नुपर्ने अवस्था तत्काल नभएको जनाएको छ ।

बिहीबार पत्रकार सम्मेलन गरेर मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले अहिले नै चीनमा रहेका नेपालीलाई फिर्ता गर्नुपर्ने अवस्था आई नसकेको बताए । कोरोना भाइरसको संक्रमण बढेपछि अमेरिका, अस्ट्रेलियालगायतका देशहरूले आफ्ना नागरिक फिर्ता बोलाइरहेको सन्दर्भमा प्रवक्ता श्रेष्ठले यस्तो बताएका हुन् ।

अध्ययनका क्रममा वा कामको सिलसिलामा चीन गएका नेपालीहरूमा अहिलेसम्म कुनै संक्रमण नदेखिएको बताउँदै उनले अहिले नै फिर्ता गरिहाल्नुपर्ने अवस्था नभएको तर यसका लागि आवश्यक तयारी भने गरिरहेको बताए ।

‘फिर्ता बोलाउने तयारी छ । तर अहिले नै बोलाइहाल्नुपर्ने अवस्था छैन् । फिर्ता बोलाएपछि अमेरिकालगायतका देशहरूले विभिन्न टापुमा लगेर १५ दिनका लागि राखेका छन् । हामीले फिर्ता बोलाएपछि कहाँ राख्ने भन्ने विषयमा छलफल भएको छ । आर्मीले आफ्नो ब्यारेकमा कतिसम्म राख्न सक्छ भनेर पनि छलफल भएको छ । फिर्ता बोलाएपछि उहाँहरूलाई १५ दिन छुट्टै राख्नुपर्ने हुन्छ’, उनले भने ।

स्वास्थ्य आपत्कालीन तथा विपद व्यवस्थापन एकाई प्रमुख सागर दाहालले त्रिभुवन विमानस्थलमा हेल्थ डेस्क नै स्थापना गरेर निगरानी बढाइरहेको बताए । उनका अनुसार चीनसँग जोडिएका नाकाहरूमा पनि निगरानी सुरू गरिएको छ । रसुवागढी र तातोपानी नाकामा विशेष निगरानी बढाइएको उनले बताए ।

वुहानमा रहेका नेपाली विद्यार्थीले आफूहरूको उद्धार गर्न चीनमा रहेको नेपाली दूतावासलाई आग्रह गरेका छन् । चीनलगायत विश्वका दर्जनभन्दा बढी देशहरूमा कोरोना भाइरसको संक्रमण देखिएको छ । अहिलेसम्म १ सय ७० जनाको यो भाइरसका कारण मृत्यु भइसकेको छ ।