Swornakshar Logo

इरानले हमला गरे इरान ध्वस्त पार्ने ट्रम्पको चेतावनी

२० पुस । काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा जनरल कासिम सुलेमानीको हत्यापछि इरान र अमेरिकाबीच द्वन्द्व बढेको छ । इरानले आफ्ना जनरल कासिमको हत्याको बदला लिने बताइरहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि इरानले हमला गरे इरान ध्वस्त पार्ने चेतावनी दिएका छन् ।

यदि इरानबाट कुनै पनि अमेरिकी नागरिकमाथि वा अमेरिकामाथि हमला भए इरानका ५२ स्थानमा हमला गरी ध्वस्त बनाउने ट्रम्पले चेतावनी दिएका हुन् ।

ट्रम्पले ट्वीटरमा लेख्दै इरानले बिनाकुनै संकोच अमेरिकी हमलाको तयारी गरिरहेको बताएकाले आफूहरूले पनि इरानका ५२ वटा स्थानलाई लक्ष्य बनाइसकेको बताएका छन् । उनले ५२ स्थानमा इरानका निकै महत्त्वपूर्ण र ऐतिहासिक स्थानहरू पर्ने पनि उल्लेख गरेका छन् ।

यदी इरानले हमला गरे हामी पनि निकै छिटो र घातक रूपमा आक्रमण गर्नेछौं,’ उनले लेखेका छन्, ‘अमेरिका धम्की सुन्न चाहँदैन ।’ इरानका सर्वोच्च नेता आयातोल्लाह खामेनीले अमेरिकासँग इरानी सेनाका कमाण्डर जर्नेल कासिम सुलेमानीको हत्याको बदला लिने बताएका छन् ।

नेता खामेनीले अमेरिकाविरुद्धको लडाइँ जारी रहने पनि बताएका छन् । अमेरिकाले आफूविरुद्ध आक्रमणको योजना बनाएको भन्दै सुलेमानीमाथि कारबाही गरेको बताएका छ । तर, मध्यपूर्वमा इस्लामिक स्टेट(आईएस) विरुद्धको लडाइँमा कासिम सुलेमानीको प्रमुख भूमिका रहेको सीएनएनका पत्रकार निक प्याटन वाल्सको विश्लेषण छ ।

उनका अनुसार आईएसको गतिविधि रोक्न सुलेमानी र इरानको प्रमुख भूमिका छ । सुलेमानीले अग्रपंक्तिमा रहेर आईएसविरुद्ध लडेको पनि पत्रकार वाल्सको विश्लेषण छ । उनका गतिविधिको प्रशंसा वा आलोचना जे गरे पनि पछिल्लो एक दशकमा सुलेमानी मध्यपूर्वका प्रभावकारी व्यक्तित्व रहेको वाल्सले बताए ।