Bagmati Samachar Logo

पत्रकार जमाल खशोग्गीको हत्याको आरोपमा साउदीमा ५ जनालाई फाँसि

७ पुस । काठमाडौं । साउदी अरबको एक अदालतले पत्रकार जमाल खशोग्गीको हत्या गरेको आरोपमा पाँच जनालाई फाँसिको सजाय दिएको छ भने तीन जनालाई जेल सजाय सुनाएको छ । साउदी एजेन्टहरुको एक टोलीले गत वर्ष इस्तानबुलमा रहेको साउदी कन्सुलेटको कार्यालयमा खशोग्गीको हत्या गरेको थियो । पत्रकार खशोग्गी साउदी सरकारको कटु आलोचक थिए । ५९ वर्षीय पत्रकार खशोग्र्गी सन् २०१८ को अक्टोबर २ मा मारिएका थिए ।

यस घटनामा साउदी राजकुमार मोहमद बिन सलमान सामेल रहेको विभिन्न रिपोर्टहरु समेत बाहिर आएको थियो । राजकुमारले यसलाई खण्डन गरे पनि गत अक्टोबरमा साउदी अरेबियाको नेताको हैसियतले साउदी सरकारका लागि काम गर्ने व्यक्तिहरुले घटना घटाएको भन्दै घटनाको सम्पूर्ण जिम्मेवारी लिने बताएका थिए । अन्तर्राष्ट्रिय दबाबपछि साउदीको सरकारी वकिलले नाम नखुलाएका ११ जनामाथि मुद्दा चलाएको थियो ।

साउदी सरकारले यस घटनामाथि अनुसन्धान सुरु गरेपछि १८ जनालाई पक्राउ गरिएको थियो भने पाँच जना शीर्ष सरकारी अधिकारीहरुलाई बर्खास्त गरिएको थियो । यसमा गुप्तचर विभागका उपप्रमुख अहमद असिरी र राजकुमार सलमानसँग निकट मानिने साउद अल कतानी रहेका थिए । कतानीमाथि अनुसन्धान गरिए पनि उनीविरुद्ध पर्याप्त प्रमाण नभेटिएको भन्दै छाडिएको थियो भने खसिरीलाई पनि पछि प्रमाण नभेटिएको भन्दै सफाइ दिइएको थियो ।

गत जनवरीमा ११ जनालाई रियादको क्रिमिनल कोर्टमा सुनुवाइका लागि पेश गरिएको थियो जसमध्ये पाँच जनालाई मृत्युदण्डको सजाय माग गरिएको थियो । उनीहरुको पहिचान खुलाइएको छैन ।