Swornakshar Logo

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका अवसरमा हेटौंडामा कार्यक्रम

९ मंसिर । हेटौंडा । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आज देखि सुरु भएको छ । यसका अवसरमा आज हेटौंडामा सबै क्षेत्रका नागरिकको प्रतिनिधित्व सहित र्याली समेत निकालीएको छ ।
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान मुल समारोह समिति मकवानपुरको अयोजनामा हेटौंडामा र्याली निकालीएको हो । हेटौंडाको भुटनदेवि माध्यमिक बिद्यालयको चौरबाट शसस्त्र प्रहरी, जनपथ प्रहरी, बिभीन्न कार्यालयका कर्मचारी, सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधि लगाएतकाको सहभागितामा निकालीएको र्यालीले बजार परिक्रमा गरेर बुद्धचोकमा आएर कोणसभामा परिणत भएको थियो ।
कार्यक्रमका अवसरमा प्रदेशसभाका सदस्यहरु कुमारी मोक्तान, प्रेमबहादुर पुलामी, जुनेली श्रेष्ठले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान मात्र होइन यो अभियान सधै जारी राखेर हिंसा सधैका लागि अन्त्य गरिने बताउनुभयो ।

जिल्ला समन्वय समिति मकवानपुरका उपप्रमुख तथा मुल समारोह समितिका संयोजक भगवती पुडासैनीको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख मिना कुमारी लामा, मकवानपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोसी, गैरसरकारी संस्था महासंघ मकवानपुरका अध्यक्ष कृष्ण धिताल, मानव वेचविखन विरुद्धको सञ्जाल मकवापनुरका संयोजक आरती पाठक लगायतकाले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
संयुक्त राष्ट्रसंघको सन् १९९९ को महासभाले नोभेम्बर २५ लाई महिला हिंसाविरुद्धको दिवसका रुपमा मनाउने निर्णय गरेपछि अभियानकै रुपमा विश्वभर यो दिवस मनाउने गरिएको हो । नेपालमा भने २०५४ सालदेखि दिवस मनाउन थालिएको हो । अभियान देशभर नै सञ्चालन गर्न महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले सम्बन्धित आग्रह गरेको छ ।
महिला तथा बालबालिकाको मानव अधिकारको संरक्षण गर्न, उनीहरुको सम्मानपूर्वक बाँच्न पाउने हक अधिकार सुनिश्चित गर्न यो अभियान आयोजना हुने गरेको छ । हरेक वर्ष अभियान गरिए पनि अझै पनि बोक्सीको आरोप, छाउपडी, दाइजो जस्ता कुप्रथा समाजमा रहेकाले महिला र बालबालिका विभिन्न हिंसा भोग्न बाध्य हुने गरेका छन् ।

अध्ययन अनुसार विश्वभर प्रत्येक तीन मध्ये एक महिलाले आफ्नो जीवनकालमा कुनै न कुनै प्रकारको हिंसा भोगेका हुन्छन् र धेरैजसो हिंसा भने उनिहरुका निकट, प्रेमी, विश्वास पात्र या जीवन साथीबाट भोगेका पाइएको छ । दिवसको अवसरमा राष्ट्रिय सभागृहमा सरकारले सोमबार गर्ने भनेको विषेश कार्यक्रम आउने २२ गते हुने भएको छ ।