Swornakshar Logo

सामूहिक बलात्कारः दोषीलाई साढे ११ वर्ष कैद र १० लाख क्षतिपूर्तिको सजाय

२ मंसिर । काठमार्डाै । सर्वोच्च अदालतले सामूहिक बलात्कार गर्ने दुई जनालाई जनही साढे ११ वर्षको कैद सजायको फैसला गरेको छ । ९ चैत ०६८ मा बैतडीमा सामूहिक बलात्कृत भएकी ‘घ कुमारी’ मुद्दामा सोमबार सजाय निर्धारण गर्दै सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले यस्तो फैसला गरेको हो ।

उनीमाथि बलात्कार भएको र दोषीहरूलाई सजाय हुने फैसला भने सर्वोच्च ७ कात्तिकमै गरेको थियो । सर्वोच्चले बलात्कार गरेकोमा साढे ६ वर्ष र सामूहिक बलात्कारमा ५ वर्ष गरी जनही साढे ११ वर्ष कैद सजाय तोकेको हो । सर्वोच्चको फैसलाले पीडितको शिक्षा, स्वास्थ्य मानसिक रुपमा समेत असर पुगेको भन्दै १० लाख रुपैयाँ क्षतिपूर्ति दिलाउने फैसला पनि गरेको छ । पीडकबाट क्षतिपूर्ति भराउने अवस्था नभए सरकारले समेत जिम्मेवारी लिएर पीडित युवतीलाई दिलाउनसमेत आदेश दिएको छ ।

०६८ को एसएलसीको तयारी गरिरहेकी ‘घ कुमारी’ बैतडीको पाटनबजारस्थित सागर भट्टको पसलमा गेसपेपर किन्न गएकी थिइन् । तर, भट्टले गेसपेपर आफ्नोमा नभएको भन्दै नजिकैको चाँदनी फोटो स्टुडियोमा पाइन्छ भनेर पठाएका थिए । तर, ‘घ कुमारी’ पुग्दानपुग्दै भट्ट पनि स्टुडियो पुगेका थिए । उनी र स्टुडियो सञ्चालक अमरराज अवस्थी मिलेर किशोरीलाई भित्र लगेका थिए । उनीहरूले खुट्टा र दायाँ पाखुरामा सुई लगाएर बेहोस बनाई बलात्कार गरेका थिए । यो विषय तत्कालै राष्ट्रिय मुद्दा बनेको थियो । २२ फागुन ०६९ मा फैसला सुनाउँदै जिल्ला अदालतले दुवैजनालाई बलात्कार गरेकोमा आठ र सामूहिक बलात्कार गरेकोमा पाँच गरी १३–१३ वर्ष कैद सजाय तोकेको थियो । दुवैबाट ५० हजार रुपैयाँका दरले पीडित युवतीलाई क्षतिपूर्ति दिलाउने फैसला पनि अदालतले गरेको थियो ।

जिल्ला अदालतका न्यायाधीश हिमालयराज पाठकले दिएको फैसलाविरुद्ध अभियुक्तहरू पुनरावेदन अदालत महेन्द्रनगर पुगेका थिए । १५ वैशाख ०७१ मा पुनरावेदन अदालत महेन्द्रनगरका न्यायाधीशद्वय रमेशप्रसाद राजभण्डारी र नरबहादुर शाहीको संयुक्त इजलासले जिल्ला अदालतको फैसला पूर्ण रूपमा उल्ट्याउँदै दुवैलाई सफाइ दिएको थियो । एउटा अदालतबाट १३ वर्ष सजाय पाएका व्यक्ति अर्को अदालतबाट पूर्ण निर्दोष हुनु आश्चर्य हो । तर, पुनरावेदनको फैसलामा चित्त नबुझेपछि पीडित २ पुस ०७१ मा सर्वोच्च आएकी थिइन् । सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र हरिप्रसाद फुँयालको संयुक्त इजलासले पुनरावेदन अदालतको फैसला उल्ट्याउँदै बलात्कारका अभियुक्त दुवै व्यक्ति दोषी भएको ठहर गरेका थिए ।

‘घ कुमारी’लाई बलात्कार भएको नदेख्ने पुनरावेदन अदालत महेन्द्रनगरका न्यायाधीशमध्ये नरबहादुर शाही भने बर्खास्तीमा परिसकेका छन् । गोर्खा ब्रुअरी कम्पनीको कर विवादसम्बन्धी मुद्दामा कानुन मिचेर अन्तरिम आदेश दिएको भन्दै न्यायपरिषद्ले उनलाई बर्खास्ती गरिसकेको छ ।