Swornakshar Logo

जुवाडेहरु तत्काल नछुट्ने

१३ कार्तिक । काठमाडौं । केहि दिन पहिला काठमाडौको महाराजगञ्जबाट पक्राउ परेकाहरु जुवाडेहरु तत्काल नछुट्ने भएका छन् । बन्दी प्रत्यक्षीकरण रिट दायर गर्दै आफू थुनामुक्त हुन माग गर्दै सर्वोच्च अदालत पुगेका जुवाडेहरुलाई तत्काल छाड्न अस्वीकार गरेको हो ।

न्यायाधीश पुरुषोत्तम भण्डारीको इजलासले महाराजगञ्जबाट गत शनिबार राति पक्राउ परेका जुवाडेहरुको पाँचवटा अलग रिटमा बुधबार सुनुवाइ गरेको हो ।
उनको इजलासले बलराम सापकोटा, पवनकुमार गुप्ता, पवित्रकुमार कार्की, मुक्ति लामा, श्रवणकुमार गोयल र विक्रम गौतमको रिटलाई सोही काण्डमा पक्राउ परेका अरु मुद्दासँग ‘साथै राख्न’ आदेश गरेको छ । उनीहरुलाई यसअघि भण्डारीकै इजालशले अदालतमा उपस्थित गराउन आदेश गरेपछि आज अदालतमा उपस्थित गराइएको थियो ।
त्यस्तै, जुवाखालबाटै पक्राउ परेका इन्द्रबहादुर श्रेष्ठ, प्रेम थापामगर, अशोक श्रेष्ठ, रामकृष्ण केसी, शाङ्बु शेर्पा र गेल्जे लामालाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश गरेको छ । सोमबार उनीहरुको रिट परेको थियो ।

मंगलबार शम्भुबहादुर बुढाथोकी र होमप्रसाद चौलागाईंले छुट्टाछुटै बन्दी प्रतयक्षीकरणको रिट दायर गरेका थिए । उनीहरुलाई पनि अदालतमा उपस्थित गराउन आदेश गरिएको सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए । म्याद तामेल भएको मितिले २४ घण्टाभित्र बन्दीसहित उपस्थित हुन आदेश गरिएको ढकालले बताए ।

महाराजगञ्जको एक घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरु पक्राउ परेका थिए । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख उत्तम सुवेदीका अनुसार पक्राउ पर्नेमा २५ जना रहेका छन् । उनीहरुको साथबाट दुई करोड ६७ लाख रुपैयाँ बरामद भएको उनले जानकारी दिए । पक्राउ परेकाहरुको अनुसन्धान जारी रहेको उनले जानकारी दिए ।

महाराजगंजको पिपलमार्गस्थित विक्रम गौतमको घरमा मिनि क्यासिनोको रुपमा अवैध रुपमा जुवा खेलिरहेको सूचना पाएपछि प्रहरी नायव उपरीक्षक उमेश लम्सालको कमाण्डमा गएको टोललिे उनीहरुलाई पक्राउ गरेको थियो ।

उनीहरुको साथबाट दुई करोड ६७ लाख बरामद भएको थियो । पक्राउ पर्नेमा विक्रम गौतम, रामकृष्ण केसी, ईन्द्र श्रेष्ठ, रञ्जन राजवंशी, श्यामप्रसाद पराजुली, अशोक श्रेष्ठ, सिताराम खड्का, रोशन तामाङ, राम तामाङ, कृष्ण भण्डारी, सुमन अग्रवाल, सुमन गुरुङ, सोवित सिलवाल, सोहल कार्की, पवन अग्रवाल, पवित्र कुमार कार्की, बलराम सापकोटा, धावा लामा, मुक्ती लामा, शम्भु बुढाथोकी, प्रेम थापा मगर, बुद्ध लामा, नवाङ्ग लामा, प्रदीप बोगटी रहेका छन् ।

उनीहरुविरुद्ध जुवा ऐन अन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।