Swornakshar Logo

प्रधानमन्त्री ओलीलाई आज अस्पतालमै राखिने

१३ कार्तििक । काठमाडौं । आव बिहान(बुधवार) स्वास्थ्यमा समस्या आएपछि ग्राण्डी अस्पतालमा भर्ना गरिएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुधबार अस्पतालमै राखिने भएको छ ।
अस्पतालमा भर्ना भएपछि पनि उनलाई ज्वरो बढेको अस्पताल स्रोतले बताए । प्रधानमन्त्रीको स्वास्थ्य टिमले भने अहिलेसम्म आधिकारिक धारणा सार्वजनिक गरिसकेको छैन । प्रधानमन्त्री ओली बुधबार बिहानै ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको सघन उपचार कक्ष (आईसीयू)मा भर्ना भएका थिए । चिकित्सकको निगरानीमै राख्नुपर्ने भएकाले बुधबार डिस्चार्ज नहुने बालुवाटार स्रोतले बताए ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले ज्यादै अस्वस्थ भएर आईसीयूमा राखिएको नभई भीडभाड हुने र सङ्क्रमण फैलिने भयका कारण राखिएको प्रष्ट पारे । प्रधानमन्त्रीको शरीरमा पानीको मात्रा कम (डिहाड्रेसन–जलवियोजन) देखिएको बालुवाटार स्रोतको भनाइ छ । “उहाँको शरीरमा पानीको मात्रामा कमी देखियो । औषधिको साइड इफेक्ट हुन सक्छ,” बालुवाटार स्रोतले भन्यो, “टीकाको दिनदेखि नै असजिलो महसुस गरिरहनुभएको थियो । टीकाको दिन अलिक धपेडी पनि भयो । शरीरको तापक्रम पनि बढेको थियो । अहिले अवस्था सामान्य हुँदै गएको छ ।”

प्रधानमन्त्री केपी शर्मा ओलीको १३ वर्षअघि मृगौला प्रत्यारोपण गरिएको थियो । त्यसयता प्रधानमन्त्री ओलीले नियमित स्वास्थ्य जाँच गर्दै आएका छन् । दुई महिनाअघि सिङ्गापुरमा प्लाज्मा फेरेसिसमार्फत शरीरमा जम्मा भएको एण्टीबडी नष्ट गरिएको थियो । प्रधानमन्त्री ओली यहीवर्षमात्रै दुईपटक सिङ्गापुर गइसकेका छन् । सिङ्गापुरबाट फर्किएपछि पनि ओली नियमित स्वास्थ्य परीक्षणमै छन् ।