Bagmati Samachar Logo

डीभीले राहदानी लिन सेवाग्राहीको चाप, राहदानी लिनेको संख्या तीन गुणाले वृद्धि

६ कार्तिक । काठमाडौं । अमेरिकाले सन् २०२१ का लागि खुला गरेको डाइभर्सिटी भिसा (डीभी) चिठ्ठा भर्न राहदानी अनिवार्य गरेपछि राहदानी लिनेहरुको संख्या ह्वात्तै बढेको छ । राहदानी विभागमा राहदानी लिनेको संख्या तीन गुणाले वृद्धि भएको बताउछन् ।

यद्यपि विभागले डीभीमा गरिएको अनिवार्यताकै कारणमात्रै राहदानी बनाउनेको संख्या वृद्धि नभएको प्रष्ट्याएको छ । विभागका महानिर्देशक रामकाजी खड्काले दसैं विदा, आउँदै गरेको तिहार, छठ पर्व, कामदारका लागि मलेसिया खुला हुनुले पनि राहदानी बनाउनेको संख्या वृद्धि भएको बताए ।

“दसैं बिदा थियो । फेरि तिहार–छठको बिदा आउँदैछ । मलेसियामा पनि खुलेको छ । खाडी मुलुकमा काम गर्न जाने सोर्स भनेको तराई–मधेस हो, त्यहाँ तिहार–छठ धुमधामसँग मनाइन्छ । पर्व बनाएर विदेश जानका लागि राहदानी बनाउन आउनेको संख्या धेरै छ,” उनले भने, “दसैंको बिदालगत्तै डीभी लट्री खुल्यो । त्यसमा पासपोर्ट अनिवार्य भएका कारण पनि संख्या बढेको हो ।”

महानिर्देशक खड्काले दसैं अगाडि विभागबाट दैनिक पाँच सयदेखि नौ सय जना सेवाग्राहीले राहदानी लिने गरेको र पछिल्लो समय उक्त संख्या तीन गुणाले वृद्धि भएको जानकारी दिए ।

उनका अनुसार विभागबाट गत आइतबार अहिलेसम्मकै बढी २७ सय २६ राहदानी जारी भएका छन् । उनले मंगलबार विभागले २४ सय ४३ सेवाग्राहीलाई राहदानी वितरण गरेको पनि जानकारी दिए ।