Swornakshar Logo

जापानमा गर्मीका कारण २३ जनाको मृत्यु

२९ साउन । काठमाडौं । जापानमा अत्याधिक तापका कारण दिन दिनै बिरामीको संख्या बढ्दै गएको छ । प्रकोप व्यवस्थापन निकायका अनुसार गर्मीका कारण जापानमा कम्तीमा २३ जनाको मृत्यु भएको बताएको छ । सो कार्यालयले बुधबार दिएको जानकारीअनुसार अत्याधिक तापका कारण बिरामी भएका १२ हजार ७५१ जना अस्पतालमा पुगेका थिए ।

अधिकारीहरुका अनुसार मृत्यु हुने र बिरामी हुनेको यो विवरण गत अगस्ट ५ देखि एक हप्तासम्मको मात्रै रहेको बताएका छन् । अस्पताल गएका मध्ये ४०० जनालाई भर्ना नै गर्नु परेको उनीहरुले बताए। बिरामी भएका मध्ये सबैभन्दा धेरै टोकियोका रहेका छन् ।

अस्पतालमा उपचार गराउन आएका यस्ता बिरामीमध्ये ५५ प्रतिशतभन्दा बढी बिरामी ६५ वर्षभन्दा बढी उमेरका रहेको अस्पताल प्रशासनले बताएको छ । अधिकारीहरुका अनुसार टोकियोका मात्रै १४ सय ६५ जना अस्पताल गएका थिए भने सैतामाका ९७७ जना बिरामी भएका थिए ।

जापानको मौसम विभागले अहिले जापानमा यो वर्षकै सबैभन्दा धेरै गर्मी भएको बुधबार जानकारी दिएको छ । उनीहरुका अनुसार सबैभन्दा धेरै गर्मी भएको ठाउँमा यस वर्षको सबैभन्दा धेरै तापक्रम ४०।३ सेल्सीयस पुगेको छ ।