काठमाडौँ । गोरखाको चुमनुब्री गाउँपालिका अध्यक्ष निमा लामाले आज बिहान आएको भिषण बाढीपछि केही मानिसहरू सम्पर्कविहीन भएको बताएका छन्।
उनले , ‘बाढीपछि पाँचजना चौरी गोठाला सम्पर्कविहीन भएका छन् । यो बाढीमा पनि मानिसहरु परेको आशंका छ। अझै सबै विवरण आइसकेको छैन। धेरै घर र हाइड्रो पावर पनि बाढीले बगाएको छ।’
उनले चुमनुब्री ६ कुन्जुलुङ खोलामा आज बिहान साढे ३ बजेतिर सुरुमा भूकम्प आएजस्तो ठूलो धक्कासहित जमिन हल्लिएको र लगत्तै बाढी आएको बताए। ‘त्यो निकै ठाडो हिमाली खोला हो। सुख्खा पहिरो गएपछि खोला थुनिएको अनुमान हामीले गरेका छौँ। तर यकिन भएको छैन।’
बाढीले चुमनुब्री वडा नम्बर ३ को सिर्दिबासमा ठूलो क्षति भएको उनले बताए। उनले भने, ‘त्यहाँ घरहरु बगेका छन्। हाइड्रो पावर पनि बगाएको छ। घट्टेखोलामा पनि घरहरु बगाएको छ । क्षतिको यकिन विवरण अझै थाहा हुन सकेको छैन।’
बाढीको मुहानमा सुख्खा पहिरो गएर खोला थुनिएको हुनसक्ने अनुमान मात्र आफूहरुले गरेको उनले बताए।
हिम पहिरो पनि गएको हुनसक्ने पनि उनले बताए ।


प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरू लोड हुँदैछन्…