Swornakshar Logo

सुदूरपश्चिमका ८ जिल्लामा कालाजारको औषधि अभाव

६ साउन । काठमाडौं । सुदूरपश्चिम प्रदेशका ८ जिल्लामा कालाजारको ‘लायपसमल नामक औषधि अभाव भएको छ । प्रदेशको अस्थायी राजधानी कैलालीको धनगढीमा रहेको सेती अस्पतालबाहेक कुनै पनि स्वास्थ्य संस्थामा यो औषधि नरहेको स्वास्थ्य निर्देशनालय राजपुर डोटीले जानकारी दिएको छ।

सेती अस्पतालबाहेक अन्य स्वास्थ्य संस्थाहरुसँग कालाजारको औषधि प्रयोग गराउनसक्ने दक्ष चिकित्सक र माग नभएकाले नपठाइएको स्वास्थ्य निर्देशक गुणराज अवस्थीले बताए ।

अवस्थीका अनुसार ‘यो रोग तराईमा बढी हुने भएकाले संघीय सरकारले त्यसैअनुसार योजना निर्माण गरेर बजेट र औषधि पठाएको हुन्छ, ‘पहाडी जिल्ला दार्चुला, बैतडी र डडेल्धुरामा देखिने कालाजार भारतलगायतका तेस्रो मुलुकबाट आएको हो ।

यो झाडापाखला जस्तै छोटो समयमै महामारीकै रुप लिने खालको रोग नभए पनि सरुवा रोग चाहिँ हो । प्रदेशको पहाडी क्षेत्रमा यो रोग देखिएको र उपचारका लागि धनगढी नै आउनुपर्ने बाध्यता रहेको उनले बताए । निर्देशक अवस्थीले भने, ‘ दक्ष जनशक्तिको अभावमा सबै स्थानमा औषधि पुर्याउन सकिएको छैन ।’

डडेल्धुरा, बैतडी, दार्चुला, डोटी, बाजुरा, बझाङ, कञ्चनपुर, अछामलगायतका अस्पतालमा कालाजारको ‘लायपसमल’ नामको औषधि अभाव हुँदा बिरामीहरूको उपचारमा समस्या भएको छ ।

कालाजारको औषधि जोसुकैले जति बेला पनि किन्न नमिल्ने चिकित्सकहरु बताउँछन् । यसलाई फ्रिजीङ गरेर राख्नुपर्ने स्वास्थ्य कार्यालय डडेल्धुराका वरिष्ठ जनस्वास्थ्य अधिकृत टंकप्रसाद चपागाईंले बताए । उनले डडेल्धुराको अजयमेरु गाउँपालिका–६ मा एकजनामा यो रोग देखा परेकाले केही दिनभित्र उक्त क्षेत्रमा जाने बताए ।