Swornakshar Logo

प्रधानमन्त्रीको विषादी परीक्षणमा विर्सजित भएको राष्ट्रवादी चरित्रः नेपाली कांग्रेस

२२ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भारतीय तरकारी र फलफूललाई विना परीक्षण नेपाल भित्रिन दिने सरकारी निर्णयप्रति विरोध जनाएको छ ।

कांग्रेसले नाकामा भारतबाट आयात हुने तरकारी तथा फलफूल अपरीक्षणपछि मात्र आयात गर्ने नीतिमा सरकार अडिन नसकेको बताएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शनिवार साँझ विज्ञप्ति जारी गर्दै सरकारको राष्ट्रवादी चरित्र विषादी परीक्षणमा विसर्जन भएको टिप्पणि गरेका छन् ।

‘नागरिक जीवनप्रति गम्भीर संवेदनशीलता राखेको भ्रम सम्प्रेषण गर्ने तर नागरिकको स्वास्थ्य र समग्र जीवनप्रति खेलवाड गर्न किञ्चित नहिच्किने सरकारको जनविरोधी प्रवृत्तिलाई कांग्रेसले गम्भीरतापूर्वक लिएको छ,’ उनले विज्ञप्तिमा लेखेका छन्, ‘नेपाल–भारत सिमाको भन्सार विन्दुमा तरकारी फलफुल लगायतमा विषादीको अवशेष अनिवार्य परीक्षण गर्ने नीति सरकार स्वयंले सूचना प्रकाशित गरेर सार्वजनिक गरेको थियो । तर अहिले आएर सरकारले एकाएक कुनै परीक्षण वेगर भित्रिन दिने आदेश दिएको समाचार अत्यन्त गम्भीर छ ।’

काठमाडौँको प्रदुषणको प्राविधिक मापनको ज्ञान वेगर एकातर्फ मास्क नलगाई हिँड्न अपिल गर्ने अनि अर्कोतर्फ विषादीयुक्त तरकारी परिक्षण नगरी प्रवेश गर्न दिने दोहोरो चरित्र सरकारले प्रस्तुत गरेको कांग्रेसको दावी छ । ‘विषादीयुक्त तरकारी–फलफुल प्रवेशमा तत्कालै कडा परीक्षण र नियन्त्रणको मार्गमा उभिन सरकारलाई सचेत गराउँदछ ।’