Swornakshar Logo

२५ जेठबाट प्रधानमन्त्रीको युरोप यात्रा

२३ जेठ । काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली २५ जेठमा युरोप भ्रमणमा जाने भएका छन् । एक साता लामो युरोप भ्रमणमा प्रधानमन्त्री ओलीले युरोपका ३ देशको भ्रमण गर्नेछन् ।

प्रधानमन्त्री ओलीले स्विटजरल्याण्ड, बेलायत र फ्रान्स भ्रमण गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले बताएको छ ।

मन्त्रालयका अनुसार प्रधानमन्त्री जुन ८ मा नेपालबाट उड्नेछन् । ओली ९ जुन र १० जुनमा स्विटजरल्याण्डको जेनेभामा अन्तर्राष्टिय श्रम संगठनको शतवार्षिकी समारोहमा उपस्थित हुनेछन् । १० जुनमा प्रधानमन्त्री ओलीले श्रम संगठनको विशेष सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको मन्त्रालयले बताएको छ ।

जेनेभामा ओलीले विभिन्न दिपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । जेनेभा सम्मेलन पश्चात प्रधानमन्त्री ओली १० जुनमा बेलायत जानेछन् । बेलायत पुगेकै दिन १० जुनमा ओलीले अक्सफोर्ड विश्वविद्यालयको विशेष कार्यक्रमलाई सम्बोधन गर्नेछन् । बेलायतमा प्रधानमन्त्री ओली दुई दिन रहने छन् ।

पछिल्लो दिन ११ जुनमा ओली बेलायती प्रधानमन्त्री थेरेसा मे सँग भेटवार्ता गर्ने कार्यक्रम रहेको मन्त्रालयले बताएको छ । १२ जुनमा ओली बेलायतबाट फ्रान्स जानेछन् । बेलायतबाट फ्रान्स जाने ओली जंगबहादुर राणापछिका दोस्रो नेपाली प्रधानमन्त्री हुन् । १२ देखि १४ जुनसम्म फ्रान्समा रहने ओलीले १२ जुनमै फ्रान्सेली प्रधानमन्त्री एडवर्ड फिलिपसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

यसपछि प्रधानमन्त्रीले फ्रान्समा विभिन्न भेटवार्ता गर्ने कार्यक्रम रहेको मन्त्रालयले बताएको छ ।