Swornakshar Logo

प्रदेश नम्बर ५ मा लागूऔषध ओसारपसारमा संलग्न ५४ जना पक्राउ

जेठ १७ । बाँके । प्रदेश नम्बर ५ मा २ हप्तामै लागूऔषध ओसारपसारमा संलग्न ५४ पक्राउ परेका छन् । पक्राउ परेकामध्ये ४ महिला रहेको बिहीवार बाँकेको कोहलपुरमा सार्वजनिक गरेको प्रदेश नम्बर ५ प्रहरी कार्यालय दाङले प्रकाशित गरेको लागूऔषध बुलेटिनमा जनाइएको छ ।

तथ्यांकअनुसार जेठ १ देखि १५ गतेसम्म ठूलो परिमाणमा लागूऔषधसमेत बरामद भएको छ ।लागूऔषध बुलेटिनको विमोचनका क्रममा प्रदेश नम्बर ५ प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक डीआईजी पिताम्बर अधिकारीले खुला सीमाका कारण बाँकेमा लागूऔषधको सेवन र कारोबार बढ्दो अवस्थामा रहेको बताए ।

‘खुला सीमानाका कारण लागूऔषधको प्रयोग तथा ओसारपसारको अवस्था भयावह छ । सबैको सहकार्य र सहयोगले मात्र यसलाई नियन्त्रण गर्न सम्भव हन्छ,’ उनले भने । उनले बुलेटिनमा आएको तथ्यांकले यस प्रदेशको अवस्था निकै डरलाग्दो भएको बताए ।

बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले लागूऔषधको दलदलमा चिकित्सकदेखि समाजका सबै वर्ग फसेकाले सचेतनाको खाँचो औंल्याए । बाँकेका प्रहरी प्रमुख एसपी अरुण पौडेलले लागूऔषधविरुद्ध प्रहरीको सक्रियता बढाएको बताउँदै सबैको सहकार्यले मात्र लागूऔषधविरुद्धको अभियान सफल हुने कुरामा जोड दिए ।