Swornakshar Logo

चाउचाउभित्र भेटियो लागुऔषध र चुरोट, दुई युवा पक्राउ

१४ जेठ । थुनुवा दाजुलाई भेट्न आएका दुई युवा प्रहरी कार्यालयमै पक्राउ परेका छन् ।घटना हो महानगरीय प्रहरी प्रभाग बलम्वुभित्रको । लागुऔषध मुद्दाका थुनुवा कालीकोट राजकोट नगरपालिका ६ का दाजु नवीन शाही ठकुरीलाई भेट्न आएका भाई र उनका साथीले गजबको आइडिया लगाएर थुनुवालाई लागुऔषध नै ल्याइदिएका रहेछन् । यो पोल खुलेपछि ती दुईलाई प्रहरी प्रभाग बलम्वुले सोमबार बेलुका पौने ८ बजेतिर कार्यालयभित्रै लागुऔषधसहित पक्राउ गरेको हो ।

दाजु भेट्न भनी बलम्वु चौकी आएका दुईलाई लागुऔषधसहित फेला पारेपछि प्रहरी नै चकित परे । महानगरीय प्रहरी प्रभाग बलम्वुका प्रहरी सहायक निरिक्षक वुद्धिबहादुर थापा त्यस समयमा कार्यालयको ड्युटी अफिसरको रुपमा खटिएका थिए । ती युवाहरुले थुनुवालाई भेट्न आउँदा ल्याएको खानेकुराभित्रै लागुऔषध ल्याइएको रहेछ । दालमोठ, चाउचाउ आफ्ना दाजुका लागि ल्याएको र भेट्नुपर्ने भन्दै समय माग गरेका उनीहरुले उक्त ती खानेकुरा दाजुलाई दिन प्रहरीलाई आग्रह गरे ।

प्रहरी सहायक निरीक्षक वुद्धि थापालाई चाउचाउभित्र ढिकाजस्तो केही शंकास्पद वस्तु रहेको आभास भयो । बन्द रहेको चाउचाउको प्याकेट खोले । त्यो बन्द वाईवाई चाउचाउ खोल्दा प्रहरी नै चकित परे । बन्द चाउचाउभित्र नाईट्राभ्याट १५ ट्याब्लेट र कालो चरेश तीन ग्राम फेला पर्यो । साथै चुरोटका खिल्ली पनि ।

महानगरीय प्रहरी प्रभाग बलम्वुका प्रहरी निरीक्षक शकंर खड्काले थुनुवालई भेट्न आएका युवाहरुले बोकेर ल्याएको चाउचाउभित्र फेला परेको लागुऔषधसहित दुई युवाहरुलाई पक्राउ गरेको पुष्टि गरे ।

महानगरीय प्रहरी बृत्त थानकोटका प्रहरी प्रमुख कुमार विक्रम थापाका अनुसार पक्राउ पर्नेमा कालीकोटको राजकोट नगरपालिका ६ बालकुकारी बस्ने वर्ष १९ का पुजन बम ठकुरी र झापाको दमक नगरपालिका( १ का २२ वर्षे धर्मेन्द्र लिम्वू रहेका छन् । उनीहरुलाई प्रहरीले कार्यालयको ड्युटी कक्षबाटै नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रमुख थापाले भने, ‘चाउचाउभित्र लागुऔषधि केही चुरोटका खिल्लीसमेत फेला परेको छ । थप अनुसन्धान भइरहेको छ, त्यसपश्चात् हामी म्याद थप गरी लागुऔषध ऐनअन्तरगत मुद्दा चलाउँछौँ ।