Swornakshar Logo

आमाले नै सिकाइन छोराहरुलाई लागूऔष सेवन गर्न

८ जेठ । काठमाडौं । आमाले छोरालाई नै लागूऔषध खुवाउँछिन् भनेर सुनेमा अचम्म लाग्न सक्छ । तर कुरा सत्य हो । त्यो पनि राजधानीमा नै ।
प्रहरीले त्यस्ती आमालाई पक्राउ गर्यो, जसले दुई छोरालाई समेत लागूऔषधको लतमा फसाइन् ।

काठमाडौं महानगरपालिका–१६ कोटेश्वरकी ५० वर्षीया सावित्री श्रेष्ठ लागूऔषधसहित पक्राउ परेपछि उनले दुई छोरालाई समेत घरमै यस्तो लागूपदार्थ खुवाउने गरेको खुलेको हो ।

प्रहरीले १ हजार ७ सय ९१ एम्पुल लागूऔषध र लागूऔषध बिक्री गरी आर्जन गरेको १ लाख ४७ हजार रुपैयाँसहित श्रेष्ठलाई प्रहरीले नयाँ बसपार्कबाट पक्राउ गरेको लागूऔषध नियन्त्रण ब्यूरोका एसएसपी वसन्त लामाले बताए ।
श्रेष्ठले आफू लागूऔषधको कारोबारी भएको र घरबाटै यसको कारोबार गरेको प्रहरीलाई बताएकी छन् ।

लागूऔषध नियन्त्रण ब्युरोले पक्राउ गरेर उनलाई आज सार्वजनिक गरेको छ । प्रहरीका अनुसार उनले आफूले कारोबार गर्ने गरेको दुई छोरालाई समेत लागूऔषध सेवन गर्न बानी पारेकी छन् ।

श्रेष्ठले कसरी छोराहरुमा लागूऔषधको लत बसालिन् भन्ने खुल्न बाँकी छ । तर, उनले लागूऔषध कारोबार भने भारतीय बजारबाट ल्याएर गरेको प्रहरीको दाबी छ ।