Swornakshar Logo

मकवानपुर प्रहरीद्वारा १ सय २० किलो गाँजा बरामद

जेठ ४ । प्रदेश नम्बर ३ का प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मकवानपुरको संयुक्त टोलीले हेटौंडा उपमहानगरपालिका ११, नवलपुरबाट आज बिहान १ सय २० किलो लागूऔषध गाँजा बरामद गरेको छ ।

चितवनबाट हेटौंडातर्फ आईरहेको ना ३ ख ३७१५४ नम्बरको कुखुराको दाना लोड गरिएको मालबाहक ट्रकमा दानाको बोराहरुको बिचमा ११ थान प्लाष्टिकको बोरा भित्र सो लागूऔषध गाँजा बरामद गरिएको प्रहरु उपरीक्षक मुकेशकुमार सिंहले बताएका छन् ।

प्रहरीलाई प्राप्त सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी निरीक्षक पवनकुमार झा नेतृत्वको टोलीले नवलपुर स्थित सडकखण्डमा चेकजाँच गर्नेक्रममा बोरामुनि लुकाएर ल्याएको गाँजा फेला पारेको आज पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो ।

प्रहरीले सो ट्रकका चालक तथा ट्रक धनी मकवानपुर राक्सिराङका २८ बर्षिय सुकुलाल थिङ र ट्रकमै सवार अर्का राक्सिराङ घर भई हाल चितवन गीतानगर बस्ने ३१ बर्षिय नमराज दर्जीलाई पक्राउ गरेको छ ।

पक्राउ परेका उपर लागू औषध नियन्त्रण ऐन २०३३ बमोजिम जरिवाना, १० बर्षसम्म कैद सजाय र लागूऔषध ओसारप्रसारमा प्रयोग भएको सवारी समेत जफत हुने कानूनी व्यवस्था रहेको छ ।